Logo

समाचार

परिवर्तन गाउँपालिकाद्वारा नयाँ प्रमुख प्रशासकीयलाई स्वागत



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरलाई स्वागत गरेको छ । हिजो मात्र परिवर्तन गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरलाई एक कार्यक्रमका बीच गाउँपालिकाले स्वागत गरेको हो । घर्ती मगरलाई परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपाने लगायत परिवर्तन गाउँपालिका भित्रका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले अबिर, खाँदा र फूलले स्वागत गरेका हुन । परिवर्तन गाउँपालिकामा प्रथम कार्यकालका अध्यक्ष निमकाँन्त डाँगीको कार्यकालमा आएका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का सरुवा भएर गएपछि परिवर्तन गाउँपालिकाको गाउँकार्य पालिकाको २०७८ मंसिर १० गते बसेको ८३ औं बैठकले ध्रुबराज न्यौपानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेको थियो भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ पुष ६ गते देखि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासन कार्य गर्ने गरी जिम्मेवारी दिइएको थियो । निमित्त प्रमुख प्रशासकीय न्यौपानेले परिवर्तन गाउँपालिकामा करिब १४ महिना काम गरे । जसमा स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन, आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति योजना तथा कार्यक्रम ल्याउन, वार्षिक समिक्षा कार्यक्रम, ठूला चार्डपर्वमा बजार अनुगमन, अर्धवार्षिक समिक्षा कार्यक्रम, बृहत चलचित्र बहस र १४औं गाउँसभा सम्पन्न लगायत महत्त्वपूर्ण काम रहेका छन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले २०७९ फागुन ३० गते मंगलबार देखि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ३ अनुसार निमित्त ध्रुबराज न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरलाई आफ्नो जिम्मेवारी सुम्पीएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रेम घर्ती मगरले स्थानीय तहमा आफ्नो पहिलो जिम्मेवारी भएको र सेवाको हिसाबले कम हुन सक्ने बताउदै भने ‘कर्मचारीहरुको बीचमा सहकार्य र सहमति हुनुपरर्छ र अहिले कतिपय मिडियामा राम्रो काम हुँदा पनि नराम्रो सन्देश गएको पाइने गरेको छ ।’ साथै शाखाबाट प्रवाह कामलाई प्रभावकारी गराउन मिलेर काम गर्ने र अहिले मिडियाकै नकारात्मक प्रभावले गर्दा कर्मचारीको कारणले नै संघीय सरकारमा पनि स्थानीय तह भएको बताए । सुशासनलाई मध्यनजर गर्दै प्रत्येक कर्मचारीले आफूलाई विवरण उपलब्ध गराउन चाहे त्यो आफू भन्दा तल्लो स्तरको होस् वा माथिल्लो स्तरको होस् त्यसलाई ख्याल गरी सूचना रिपोर्ट समेत आफूलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।सरकारी कर्मचारी भएपछी आफ्नो परिचय दिइरहनु नपर्ने बताउदै आफ्नो पोसाक नियमित लगाएर कार्यालयमा आउन आग्रह गरेका छन् । सेवा ग्राहीहरु वडा कार्यालयमा बढी जाने भएकोले पनि त्यहाँका विवरण पनि आफूलाई उपलब्ध गराउन आग्रह गरेका छन् । पालिका कार्यालय वरिपरि सरसफाई गरि सफा भएको अनुभूति हुने र बजेट विनियोजन कतिको प्रभावकारी भएको छ भन्ने बारेमा विषयगत शाखाका प्रमुखहरुलाई विवरण माग्ने समेत बताए ।

त्यस्तै व्यक्तिगत हितको लागि भन्दा पनि हामी परिवर्तन गाउँपालिकाको हितको लागि शिरोपर गरेर काम गर्ने र यसमै पहिचान, इज्जत जोडिएको बताए । ऐन नियम र कार्यविधि प्रक्रिया अनुरुप काम गराउने र सबै कर्मचारीलाई समान व्यावहार हुनुपर्ने कुरामा उनले जोड दिएका छन् । कुनै पनि कर्मचारी कसैको दबाबमा नपरी सेवा प्रदान गर्नुपर्ने उनले बताए । घर्ती मगर २०७६ सालमा सरकारी सेवा प्रवेश गरे २०७६ देखि २०८ साल सम्म महान्यायाधिवक्ता कार्यालयमा काम गरे र करिब ६ महिना इलाका प्रशासन कार्यालय सुर्खेतमा काम गरे भने करिब ८ महिना रुकुम पश्चिम जिल्लाको सहायक सिडिओ भएर काम समेत गरेका थिए । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले दस वटा स्थानीय तहहरु मध्ये परिवर्तन गाउँपालिका अब्बल रहेको बताए । २०७९ बैशाख ३० मा सम्पन्न निर्वाचन पछी आफू जेठ ५ गते पदभार ग्रहण गरेको र त्यसपछि वार्षिक निति तथा कार्यक्रम बनाउन लागेको र आफूहरू सफल समेत भएको बताए । साथै सुशासनको प्रत्याभूति हुने गरि आफू अफिसमा बिहान दस बजे आएको र कर्मचारीलाई ढिला आएको र किन ढिला गरेको भनेर आफूले अहिलेसम्म नभनेको समेत बताउदै भने ‘म कुरा भन्दा पनि काममा विश्वास गर्छु र काम पनि गर्छु मैले पालिकामा लिएको एउटा अभियान छ त्यो अभियान म सधैं भन्ने गर्छु र भन्दै पनि आएको छु त्यो हो पालिकामा मुस्कान सहितको सेवा अहिले त्यो पनि क्रमिक रूपमा भइरहेको छ ।’ अहिले धेरै कर्मचारीको कार्यशैलीमा केही परिवर्तन आएको दाबी गर्दै कक्षा आठको परिक्षा यहीँ चैत २ गतेदेखि सञ्चालन हुने भएकोले त्यसको अनुगमनको तयारीमा रहेको समेत बताए । लगत्तै परिवर्तन गाउँपालिका भित्रका आम नागरिकहरुको गुनासो सुन्नको लागि आफू टोल–टोलमा जनतासँग अध्यक्ष भेटघाट कार्यक्रम लगेर जाने तयारीमा रहेको समेत बताए ।

साथै परिवर्तन गाउँपालिका गुनासो सुन्नको लागि निशुल्क टोल फ्री नम्बरको व्यवस्था गर्ने तयारीमा रहेको समेत बताए । प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले आजनै परिवर्तन गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु बीच परिच्यात्म कार्यक्रम समेत गरेका छन् । स्वागत कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका आर्थिक योजना शाखाका प्रमुख ध्रुबराज न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ५३ बजे