Logo

खेलकुद

जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिका १६ स्वर्ण, ११ रजत र १९ कास्य लिएर प्रथम



रोल्पा । जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजना तथा रोल्पा नगरपालिकाको व्यवस्थापनमा फागुन १४ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रोल्पा नगरपालिकाले शिल्ड प्राप्त गरेको छ । रोल्पाका १० वटा स्थानीय तहहरुमध्ये विभिन्न विधामा १६ स्वर्ण, ११ रजत र १९ कास्य पदक लिएर रोल्पा नगरपालिका प्रथम हुन सफल भएको छ ।

यसैगरी १४ स्वर्ण, १५ रजत र १२ कास्य पदक लिएर त्रिवणी गाउँपालिका दोस्रो भएको छ । ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक लिएर सुनिल स्मृति गाउँपालिका तेस्रो भएको छ । त्यसैगरी माडी गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक लिएर चौथो भएको छ । थबाङ गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ३ कास्य पदक लिएर पाँचौ भएको छ । परिवर्ततन गाउँपालिकाले ४ स्वर्ण र ५ कास्य पदक लिएर छैटौं भएको छ । गंगादेव गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ५ कास्य लिएको सातौं भएको छ । रुन्टीगढी गाउँपालिकाले १ रजत र १ कास्य पदक लिएर आठौं भएको छ भने सुनछहरी गाउँपालिकाले १ रजत र १ कास्य पदक लिएर नवौं भएको छ र लुङ्ग्री गाउँपालिकाले १ स्वर्ण लिएर दसौं भएको छ । रोल्पा नगरपालिकाको लिबाङ टुडिखेलमा भएको ४ दिन सम्मको विविध कार्यक्रम आज एक पुरस्कार वितरण गरेर समापन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य, रोल्पा नगर प्रमुख सुरेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगरपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीले सबैलाई धन्यवाद दिए । फागुन १४ गते उद्घाटन कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका आर्थिक तथा भौतिक पूर्वाधार मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभाका सांसद दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ४१ बजे