काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आगामी चैत १४–१५ मा पावर समिट २०२३ (ऊर्जा सम्मेलन) को आयोजना गर्ने भएको छ । ‘हरित ऊर्जा बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा आयोजना हुने पावर समिटलाई नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्रीबाट हुने इप्पानले जनाएको छ ।
ऊर्जा सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन् ।
सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडीलगायतका विकास साझेदारहरू रहेका छन् । अब हुन लागेको सम्मेलन आठौं हो ।
इप्पानले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेको थियो । उक्त सम्मेलनले मुलुकमा विद्युत् उत्पादनका लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको इप्पानको दावी गर्दै इप्पानले हिजो आयोजित पत्रकार सम्मेलनमा भन्यो, ‘फलस्वरुप आज विद्युत् ऊर्जा देश आत्मनिर्भर बन्ने चरणमा प्रवेश गरेको छ ।’
हालै सोलु–दुधकोशी जलबिद्युत आयोजनाबाट ८६ मेगावाट बिद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ । यो वर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिने छ र सन २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ ।
यसरी बिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान छ । सन २०२२ मा हाम्रो विद्युत्को उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । यो तथ्यले अबको वर्षायाममा करिब एक हजार मेगावाट विद्युत बचत हुने देखिएको छ । ‘यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय हो,’ पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा छ ।
नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन । तर जलबिद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत छ । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । उत्पादित ऊर्जाको लागि अब मागलाई तीव्र बनाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । ‘यसका लागि हामीले आन्तरिक खपत र बाह्य विद्युत व्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ,’ विज्ञप्तिमा छ ।
सम्मेलनमा नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्रहरू सन्चालन गरिने इप्पानले जनाएको छ ।
पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतकाा बिषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरू (प्रोजेक्ट बैंक) प्रदर्शन गरिनेछ । यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई ऊर्जा परियोजनाहरूको बारेमा जानकारी हासिल गर्न एक अद्वितीय अवसर प्रदान गर्ने इप्पानको अपेक्षा छ ।
प्रतिक्रिया