Logo

खेलकुद

बायर्न विरुद्ध च्याम्पियन्स लिगको खेल एमबाप्पेले गुमाउने



काठमाडौं । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटका कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेल गुमाउने भएका छन् । ‘थाई इन्जुरी’ का कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएका हुन् ।

बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३–१ ले हराउँद एमबाप्पेले घाइते हुँदै मैदान छाडेका थिए । २१ औं मिनेटमा मैदान छाड्नुअघि एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए । पीएसजीले फेब्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्नेछ ।

यस्तै २४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउनेछन् । साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन् । एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा बायर्न विरुद्धको दोस्रो लेग भने उनले खेल्न सक्ने सम्भावना छ । दोस्रो लेगको खेल मार्च ८ मा हुनेछ ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ०२ बजे