Logo

विश्व

पाकिस्तानको मस्जिदमा विस्फोट हुदा २८ जनाको मृत्यु



काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ । पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ ।

३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिएका छन् । यद्यपि उक्त विस्फोट आत्मघाती हमला थियो कि बम आक्रमण थियो भन्नेबारे पनि यकिन भएको छैन । यसबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : २१ बजे