Logo

कर्णाली प्रदेश

हिउँ परेपछि जुम्लाका किसान उत्साहित



जुम्ला । लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्लाका किसान हिउँ परेपछि खुसी छन् । हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लागेका हुन् । माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन् ।

सोमबार रातिदेखि परेको हिउँले किसानमा खुसी छाएको छ । खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि किसानहरू खुसी भएका हुन् । हिउँ परेपछि जमिन भिजेको छ । विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने सिंजा(६ का किसान भिमबहादुर रावतले बताए ।

माघ महिनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ । सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकको भनाइ छ ।

स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन् । उनीहरू हिमपातको पानी पोखरीमा सङ्कलन गर्न आतुर छन् । उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गर्ने गर्दछन् ।

स्याउ किसान राममबहादुर रोकायाले यो वर्ष समयमै हिउँ परेकोले स्याउ उत्पादन बढ्ने विश्वास गरेको बताउँछन् । कृषि प्राविधिकका अनुसार ठिक समयमा हिउँ पर्दा जमिनमा चिस्यान उत्पन्न भएको छ । यो बेला खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय हो । समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर लगाउने तयारी किसानहरूले गरिरहेका छन् ।

पुस १५ देखि माघ अन्तिममा स्याउका बगैँचा काटछाट गर्ने र व्यवस्थापन गर्ने समय पनि हो । जुम्लाका ८ वटै स्थानीय तहका कृषि शाखाका प्राविधिकले किसानको स्याउ बगैँचामा पुगेर स्याउका बिरुवा काटछाट गर्ने तरिका र व्यवस्थापन र खाडल गर्ने तरिकाका बारे सिकाइरहेका थिए । हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताउँछन् ।

कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ परेको छ। तर जुम्लामा यो वर्ष पहिलोपटक परेको हो ।

सोमबार रातिदेखि अहिलेसम्म लगातार हिउँ परिरहेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । विशेष गरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका, गर्भवती महिला र विद्यार्थीहरू चिसोबाट बढी प्रभावित भएका छन् ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहले लगातार हिउँ परिरहेकोले स्वास्थ्यमा ख्याल राख्न सुझाएका छन् । उनले जथाभाबी बाहिर हिड्डुल नर्गन, हिउँमा नखेल्न नियमितरूपमा तातोपानी खान अनुरोध गरे । गेडागुडीको झोल, तरकारी बढी खान पनि उनले आग्रह गरेका छन् ।

हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशु चौपायालाई दानापानी दिन भने समस्या भएको छ । हिमपातपछि जुम्लाको तापक्रम माइनसमा झरेको छ । पशु चौपाया, भेडा बाख्रा चराउने वनजंगल हिउँले ढाकेर सेताम्य भएका छन् । गाईबस्तु र भेडा बाख्रालाई चराउन समस्या भएको गोठालाहरू बताउँछन् ।

पशु चौपाया,भेडा बाख्रालाई राम्रोसँग दानापानी र सोतर राम्रोसँग दिनुपर्ने भेटेरिनरी अस्पताल जुम्लाका प्रमुख ज्ञानेन्द्रिसंह बुढ्थापाले बताए । पाठापाठी, बाच्छाबाच्छीलाई चिसो बाट बचाउन किसानलाई आग्रह गरे । तातोपानी तताएर वा पुरानो माटाको गोठमा हुल्न र झ्याल ढोका राम्रोसँग बन्द गर्ने सुझाव दिए । हिउँदमा खुवाउन भण्डारण गरेको घाँस खुवाउन अपिल गरे ।

हिमपातले यातायात उड्ने र सडक बाट गुड्ने सानाठूला सवारीसाधन सेवा प्रभावित भएको छ । साबिकका पाँच जिल्ला जुम्ला, मुगु, कालिकोट ,डोल्पा र हुम्ला जिल्लामा हिमपातले यातायात उड्ने र सडक बाट गुड्ने साना ठुला सवारीसाधन सेवा प्रभावित भएका छन् । यता जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनर्स्थापनाको पूर्व तयारी मजबुत बनाइएको बताए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : १७ बजे