Logo

प्रदेश

मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री सञ्जय यादवले जानकारी दिए ।

समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथा विभिन्न दलका शीर्षस्थ नेताहरूको उपस्थिति रहनेछ भने मधेस आन्दोलनमा सहिद भएका ६३ जना शहीद परिवार तथा घाइतेहरूलाई सम्मान गरिने उनले बताए ।

उनले मृतक सहिद परिवारलाई २ लाख र घाइते भएका परिवारलाई अवस्था हेरी २५ हजार देखि २ लाखसम्म रुपैयाँसम्म सहयोगसहित सम्मान गरिने जनाए ।

प्रदेश सरकार बन्नुअघि मधेस केन्द्रित दलहरूले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए । प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस राजविराजमा मनाएको थियो ।

यता जनता समाजवादी पार्टी (जसपा) नेपालले बलिदानी दिवस लहानमा मनाइरहेको छ । उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको उपस्थिति रहेको छ ।

यसै अवसरमा प्रदेश सरकारले विगत ५ वर्षदेखि सार्वजनिक बिदा दिने गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ३२ बजे