Logo

खेलकुद

चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड



काठमाडौं । चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।

चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए ।

५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए ।

२५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७ औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : १९ बजे