Logo

Breaking News 1

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्माले आज दाबी पेस गर्ने



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन् । शर्माले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दाबी पेस गर्न लागेका हुन् ।

माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी छ । प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।

प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन् । दुई दलका नेताहरुबीच सरकारमा सहभागिताबारे निरन्त छलफल भइरहेको अध्यक्ष केसीले बताइन् ।

नेकपा एमाले संसदीय दलको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने/नहुने, समर्थन गर्ने, नगर्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार दलका नेता यामला कँडेललाई दिएको छ ।

४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । नेकपा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ गरी सत्तारुढ दलसँग २४ जना सांसद छन् ।

त्यस्तै प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको १४ र नेकपा एकीकृत समाजवादीको १ सिट छ । एकजना स्वतन्त्र सांसद छन् । सोमबार प्रदेशमा शीर्षस्थ नेताहरुबीच अनौपचारीक भेटवार्ता भए पनि औपचारिक रूपमा आजदेखि छलफलमा जुट्ने तयारीमा रहेको नेताहरूले बताएका छन् ।

१० गते केन्द्रमा समीकरण बने पनि प्रदेशको नेतृत्व टुङ्ग्याउने विषय केन्द्रमै निर्भर रहेको भन्दै दुई दलका नेताहरुबीच छलफल हुन सकिरहेको थिएन । सोमबारको भेटघाटमा सामान्य छलफल मात्रै भएको र आजदेखि औपचारिक रूपमा छलफल गरिने माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

यता एमालेले आज दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । दलका नेता यामलाल कँडेलले सरकारमा सहभागी हुनेरनहुनेबारेमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रले कर्णालीमा एमालेलाई मुख्यमन्त्री नदिएको र सभामुखको विषयमा समेत छलफल हुने सांसद जीतबहादुर मल्लले जानकारी दिए । त्यसपछि दुई दलका नेताहरुबीच सरकार गठनको बारेमा छलफल चल्ने नेताहरूको भनाइ छ ।

कर्णालीमा माओवादीका राजकुमार शर्मा तेस्रो मुख्यमन्त्री बन्ने करिब पक्का जस्तै छ । यद्यपि एमालेले माओवादीलाई समर्थन गर्छ कि गर्दैन भन्ने आशंका उब्जिएका छन् । तर एमालेका सांसदहरू केन्द्रको निर्णयलाई मानेर अघि बढ्ने बताइरहेका छन् ।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्दछ । तर माओवादीको १३, एमालेको १० र राप्रपाका एक गरी २४ हुन्छ । यता सभामुख पाएको एमालेभित्र भने सभामुख कसलाई बनाउने भन्ने विषयले खासै चर्चा पाएको छैन ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ४४ बजे