Logo

प्रदेश

मधेश प्रदेशको मुख्यमन्त्री बन्न जसपाका यादवको दौडधुप तीव्र



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्न दौडधुप तीव्र बनाएका हुन् । उनले दल र स्वतन्त्र सांसदहरुसँगको छलफल तीव्र बनाएका हुन् ।

जसपाको मधेश प्रदेश संसदीय दलका नेतामा चयन भएलगत्तै यादवले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफललाई तीव्र बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका छन् । तर, त्यसको दुई दिन अगाडि नै मंगलबार यादवले नेकपा एमाले लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने तयारी गरेका थिए ।

सत्तासाझेदार दलहरूसंग बैठक गरेर समर्थनमा हस्ताक्षर संकलन गरेपनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुट्न नसकेपछि मंगलबार दाबी पेश भएन् ।

मन्त्रालयको बाँडफाँडको विषयमा सहमति गरेरै अब दाबी पेश गर्ने तयारी रहेको एमालेका एक प्रदेशसभा सदस्यले जानकारी दिए । ती नेताका अनुसार अब पुस २८ गते मात्रै दाबी पेश गर्ने र बुधबार मन्त्रालय बाँडफाँडको टुंगो लगाइने छ।

सत्तासाझेदार दलहरुसहित ६० भन्दा बढी प्रदेशसभा सदस्यहरुको समर्थन रहेको जसपा नेता यादवले दाबी गरेका छन् । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जनासहित कुल ६० जना सभासदको समर्थन रहने नेता यादवले बताए ।

यसका साथै मंगलबार उनको समर्थनमा स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह, अनिरुद्द सिंह लगायतले समेत हस्ताक्षर गरेको स्रोतको दाबी छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ । नियुक्त हुने नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी समेत गरिँदै छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ३३ बजे