Logo

खेलकुद

एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दास्रो सातादेखि



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोस्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन् । सचिव दाहालका अनुसार करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन् । नियमितपछि क्रमशः विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरुआत गरिसकेको थियो । त्यत्ति बेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बर हुने भनिए पनि कोरोना भाइरसका कारण एसियाली खेलकुद १ वर्षलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०९ बजे