Logo

Breaking News 1

हिरोइजमले मात्र देश बन्दैन



हामी एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा छौ। सरकारका भित्री र बाहिरी सबै घटना सीमान्त जनतालाई थाहा हुन्छ । सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ? हिजोअस्ति भोट दिएका जनता फेरि पनि उही पुनरावृत्ति हुनेहोकी भन्ने आशंकामा छन् । सुधार भित्र प्रवेश गर्ने प्रयास कतैबाट देखिँदैन ।

अहिले स्थानीय तहदेखि संघीय सरकार सम्म सबैको भ्रष्टचार विरोधी आवाज सुनिन्छ । तर भ्रष्टाचार रोकिएको छैन । रोकिदैन । किनकि भ्रष्टाचार सञ्जाल भइसकेको छ । हामीले खाने दालभात तरकारी देखि लगाउने कपडामा भ्रष्टाचार छ । यसलाई रोक्ने कसले ? एउटा पसल र अर्को पसलमा सामानको मुल्य परक छ । डीडीसीले दुध गाउँमा ४३ रुपिया प्रति लिटरमा किन्छ र ९० रुपैयाँमा काठमाडौंमा बिक्री गर्छ । किसानबाट झण्डै ५० रुपियाँ प्रतिलिटर नाफा स्वयं सरकारले खान्छ । यसकालागि घरघरमा डिडिसी पुग्दैन यहाँसम्म ल्याउन लाई कम्तिमा कतिपय ठाउँमा किसान चार किलोमिटर सम्म दुध बोकेर हिँड्नुपर्छ । यहि हो हाम्रो उदारीकरणको अभ्यास । धादिङ, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकबाट काठमाडौँ आइपुग्दा उत्पादनको मूल्यमा पाँच गुणा फरक पर्छ । दर्जनौं दलालहरुले नाफा कमाएका छन् । जसलाई माटोको गन्ध थाहा छैन । खुट्टा फुटेको किसान विहान बेलुकै रेडियोमा ठूला आवाज सुन्छ । म किसानलाई सुविधा दिन्छु । भ्रष्टाचार निर्मुल गर्छु । सुन्दासुन्दै किसान निदाउँछ । र भोलिपल्ट गाउँ छोड्ने प्रण गर्छ । यसरी गाउँ रितिएका छन । अबको केही दशक पछि नेपालमा खाद्यान्न संकट निश्चित छ । भूगोल राम्रो भएर के गर्नु ?

सिधै उत्पादक कच्चा पदार्थबाट मूल्यवृद्धि गर्नु दलाली तन्त्र हो । भ्रष्टाचार हो । यसमा सरकार अहिले मुकदर्शक बनेर बसेको छ । उत्पादक रोइरहेका छन । अनि हामी सुशासन समृद्धि र विकासका कुरा गर्न थाक्दैनौ ।

कृषकलाई दिने अनुदान झोले कृषकमा पुग्छ । यथार्थ कृषकले अनुदान पाउदैन । मल, औषधि, बिऊ, असली किसानले पाउँदैन । माग्न जाँदा कर्मचारीसँग कुरै मिल्दैन । यतिधेरै कार्यविधि र निर्देशिका छन् कि यथार्थ किसानले कागज पुर्याउने सक्दैन । कर्मचारी किसानको घरसम्म जाँदैन । किनकि उसलाई त्यहाँसम्म जान जाँगर छैन । कर्मचारीको कुरा सुनेर किसान लाटो भएर फर्किन्छ । यसैबीच प्रफुल्ल नेतागिरी चलेका छन् ।

पसलपिच्छे सामानको मुल्य फरक छ। सरकारले दुधको मूल्य ५० रुपैयाँ देखि १२० रुपैयाँसम्म बजारमा छ । गुणात्मकताको ख्याल कतै छैन । तरकारीको मुल्य पाँच गुणासम्म फरक छ । उदारीकरणका बहस कर्ताहरु यसैमा रमाउलान । तर उदारीकरणको न्यानोपनले भ्रष्टाचार रोकिदैन । नजिकैको विन्दुसम्म मूल्य कायम गरेर सबैप्रकारका उत्पादन सरकारले खरीद किन नगर्ने । बाटो सबै ठाउँमा पुगेको छ । अब ति बाटाहरुमा सरकारी ट्रकहरूको आवागमन बढाउनुपर्छ। किसानका सबै उत्पादन खरिद गर्नुपर्छ । बिक्री गर्नुपर्छ ।सरकारको मूल्यमा गुणात्मक बनाएर सबैले व्यापार गर्न सक्छन् । उद्योग चलाउन सक्छन् । निर्यात गर्न सक्छन् । यसमा सरकारले निगरानी गर्नुपर्छ । यस्तै लथालिङ्ग तालले अब देश उभो लाग्दैन । तर सिधै उत्पादक कच्चा पदार्थबाट मूल्यवृद्धि गर्नु दलाली तन्त्र हो । भ्रष्टाचार हो । यसमा सरकार अहिले मुकदर्शक बनेर बसेको छ । उत्पादक रोइरहेका छन । अनि हामी सुशासन समृद्धि र विकासका कुरा गर्न थाक्दैनौ ।

स्थानीय सरकार समेत यस विषयमा सचेत छैन । टेबलमा आएका कागज मिलाइदिनुमात्र सेवा प्रवाह होइन । प्रभावितजनतालाई सेवा दिनु असल सेवा प्रवाह हो । स्थानीय तहको व्यापार, उत्पादन, सहजीकरण गर्नु पनि सेवा प्रभाव हो । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुनै व्यापारको लागेका छन् । ढुंगा बालुवाको व्यापार खुप फस्टाएको छ । पालिकाले स्थानीय उत्पादन खरिद गरेको र किसानलाई सहजीकरण गरेको समाचार सुन्न पाइँदैन ।किनकि यो झन्झटिलो काममा समय खर्च गर्ने कसैलाई जाँगर छैन । काठमाडौँ शहरको लागि वरिपरिका १० जिल्ला उत्पादनको लागि काफी छन् । तर अरबौंको आयात भारतबाट गर्छौ । यदि सरकारले किसानका सबै उत्पादन किनिदिने हो भने ठूला व्यापारीबाट उदारीकरणको नाममा अवरोध हुनसक्छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याई दिने हो भने दलाली तन्त्र धरासायी हुन्छ । तर यही दलाली तन्त्र भित्र सरकार रमाएको छ । थाहा छैन कसरी भन्नु । सबै किसानका छोराछोरी हुन । सबैले गाउँ छोडेर पिडा अनुभूत गरेकै छन् । तर सजिलै नाफा खोज्ने पैसाको शक्तिले कसैलाई काम गर्न दिँदैन । कर्मचारितन्त्र जाँगरिलो छैन । आँट गर्ने हो भने देश समृद्धि हुन समय लाग्दैन ।

हामीले खाने दालभात तरकारी देखि लगाउने कपडामा भ्रष्टाचार छ । यसलाई रोक्ने कसले ?

यहाँ राम्रो काम गर्ने अवसर कसैले कसैलाई दिँदैन । प्रतिदिन ३ हजारको दरले विदेशिने युवाहरु गाउँ छाड्दैछन् । गाउँ रित्तै छ । शहरीकरण बढ्दै छ । बिकृति बढेर गएको छ । जताततै सरकारको विरोध छ । कसैले कसैको विश्वास गर्न छोडेका छन् । अब हिरोइजमले मात्र देश बन्दैन । काम देखाउनुपर्छ । हामी कृषिप्रधान देशका जनता हौ । हाम्रो भूगोल, अर्थतन्त्र सबै कृषिमा आधारित छन । कृषि पर्यटन जलस्रोत अहिले हाम्रा सम्पत्ति हुन् । तर यसैभित्र सबभन्दा ठूलो खराबी छ । अब हाम्रा शासकहरु यसको सुधारमा अगाडि बढ्लान । कि उही पुराना र व्यक्तिगत आरोप प्रत्यारोपमा शासन गर्दै जालान । हेर्न बाँकी छ । अहिलेसम्म यसको सानो प्रभाव सम्म देखिएको छैन । सबैलाई हिरो हुने इच्छा मात्र देखिँदैछ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ४२ बजे