बुटवल । खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित बुटवलमा फुड फेस्टिभल ९सडक खाना महोत्सव० हुने भएको छ ।
होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सयवटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।
फेस्टिभलको तयारीस्वरुप संघले सल्लाहकारसँग छलफल गरेको छ । छलफलमा सहभागी सबैले पर्यटन व्यवसाय उकास्न फुड फेस्टिभल महत्वपूर्ण माध्यम हुने भन्दै यसको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील रहने बताएका छन् ।
संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझै ब्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उनले बताए ।
खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।
महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीव्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।
बैठकमा बरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डेलगायतले बोल्दै पर्यटन क्षेत्र र होेटल ब्यवसाय एक अर्काका परिपूरक भएको बताएका थिए । तीन दिनको सो महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो ।
स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्न कोरोना नै वाधक बनेको बताएको छ ।
प्रतिक्रिया