Logo

Breaking News 1

अर्जेन्टिनाको समर्थनमा प्रचण्ड, यस्तो छ कारण !



काठमाडौं । कतारमा जारी सन् २०२२ को विश्वकप फुटबल उत्तरार्धमा पुगेको छ । दोस्रो सेमिफाइनल, तेस्रो स्थानका लागि सेमिफाइनलका दुई पराजितहरुका बीचको भिडन्त र उपाधिका लागि फाइनल भिडन्त बाँकी छ । पहिलो सेमिफाइनलमा गएराति क्रोएसियालाई हराएर अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । दोस्रो सेमिफाइनलबाट फाइनलमा फ्रान्स र मोरक्को मध्य एक जानेछन् ।

विश्वभर खेल जगतमा उत्सवको रुपमा मनाईने सवैभन्दा धेरै दर्शक भएको खेल भएकाले पनि खेलाडी, उनीहरूको प्रदर्शन र समर्थकबारे हरेक फुटबल प्रेमीलाई स्वभाविक चासो छ । विश्वकप खेलेका ३२ देश मध्य आफ्नो मन पर्ने देश कुन हो र मन पर्ने खेलाडी कुन भनेर खेल हेर्ने दर्शक धेरै छन् । ‘जसले राम्रो खेल्छ उसैले जितोस’ भन्ने हरु पनि भेटिन्छन् । खेल हेर्ने तर जित हारको वास्ता नगर्नेहरु पनि विश्वकप हेरिरहेका हुन्छन् ।

विश्वकपका दौरान व्यक्त भएका भावना र सामाचारहरु हेर्ने हो भने सम्भवत: सवैभन्दा धेरै समर्थक अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, पोर्चुगल, इटाली जस्ता फुटबलका ‘पावर हाउस’हरुकै छन् । तर भौगोलिक हिसावले निकटताका भएकाले एसियाली देशका समर्थकहरुले एसियाली टिमहरु, जापान, दक्षिण कोरिया लगायतलाई पनि समर्थन गरिरहेका हुन्छन् भने अफ्रिकन समर्थकहरुले अहिले मोरक्कोको समर्थन गरिरहेका छन् ।

नेपाली फुटबल समर्थकको कुरा गर्ने हो भने सवैभन्दा धेरै समर्थक अर्जेन्टिनाकै पक्षमा खुलेको देखिएको छ । त्यसै मध्यका एक हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । विश्वकप फुटबलका पछिल्ला खेलहरु सकेसम्म नछुटाई हेरिरहेका प्रचण्डले अर्जेन्टिनालाई समर्थन गर्नुका दुई कारण छन् । एक त अर्जेन्टिना चे ग्वेभाराको देश । कम्यूनिष्ट क्रान्तिकारीहरुका लागि चे विश्वकै आर्दश पात्र हुन् । प्रगतिशिल देश भएकाले पनि अर्जेन्टिनाको समर्थन गरेको अध्यक्षले बताएका उनका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

अर्को कारण भनेको अर्जेन्टिनाका कप्तान मेसीको खेल्ने आकर्षक शैली र उनको स्वभाव र व्यवहार हो । राजनीतिमा समेत ‘फेयर प्ले’ हुनुपर्छ भन्ने पक्षमा रहेका प्रचण्ड मेसीले मैदान भित्र देखाउने फेयर प्ले र बाहिर देखाउन सरल शैलीबाट प्रभावित छन् । ‘अध्यक्षले पहिला ब्रजिललाई समर्थन गर्नुभएको थियो, तर अहिले अर्जेन्टिनाको पक्षमा हुनुहुन्छ । यी दुवै देश कम्युनिष्ट आदर्शका हिसावले प्रगतिशिल देश भएकाले समर्थन गर्नुभएको हो,’ संयोजक शर्माले भने । अध्यक्ष प्रचण्डले राजनीतिक व्यस्तता र मध्य रातिको खेल भएका कारण सवै खेलहरु भने हेर्न नपाएको र कतिपय अवस्थामा भोलिपल्ट हाइलाइट्स हेर्ने गरेको शर्माले बताए । अध्यक्ष प्रचण्ड खेलाडीका हिसावले टेबल टेनिसका सौखिन हुन् । उनी बिहानी अभ्यासका क्रममा समेत आफ्नै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुसँग टेबुल टेनिस खेल्ने गर्दछन् । विद्यार्थी र शिक्षक कालमा भलिबल खेलेको अनुभव अध्यक्ष प्रचण्डसँग छ ।

नेपाली राजनीतिज्ञमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि मेसीको ‘कट्टर फ्यान’ हुन् । उनी त विश्व कप मात्रै होईन मेसीले खेल्ने क्लब म्याचहरु पनि नछुटाई हेर्ने गर्दछन् । यसपाली मेसीको खेल हेर्न कतार नै जाने निम्तो आएपनि चुनाव परेका कारण जान नपाएको उनले बताउने गरेका छन् । एमाले युवा नेता महेश बस्नेतले कतार पुगेरै अर्जेन्टिना र क्रोयसियाबीचको सेमिफाइनल अर्जेन्टिनाको जर्सि लगाएर हेरे ।

माओवादी केन्द्रका नेता वर्षमान पुन ब्राजिलका समर्थक हुन् । उनी हाल उपचारका लागि चीनमा छन् । माओवादीका युवा नेता रामप्रसाद सापकोटाले आफूले मन पराएको देश ब्राजिलको खेल कतार पुगेरै प्रत्यक्ष हेरे । वाई सि एल अध्यक्ष सुबोध सेर्पाली पनि पोर्चुगलको समर्थन गर्न कतार नै पुगका थिए । भलै उनीहरुले समर्थन गरेको देशले सेमिफाइनलको यात्रा तय गर्न सकेन । नेपालका चर्चित हास्य कलाकार दीपकराज गिरी अर्जेन्टिनाका समर्थक हुन् । उनी रोचक पाराले सामाजिक सञ्जालमा अर्जेन्टिनाको समर्थन गरिरहेका हुन्छन् । साहित्यकार बुद्धिसागरको अर्जेन्टिना र मेसीलाई समर्थन गर्ने शैली साहित्यीक नै छ । सामाजिक राजनीतिक जिवनका व्यक्तिहरुले कसले कसलाई समर्थन गर्छन् भन्ने सूची बनाउने हो भने लामै हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ०० बजे