Logo

खेलकुद

जिल्लास्तरीय अन्तरविद्यालय टी–२० क्रिकेट स् उद्घाटन खेल एभरेष्ट बोर्डिङको जित



भैरहवा । आइतबारदेखि सुरु भएको स्व।शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल एभरेष्ट बोर्डिङ स्कूल बुटवलले जितेको छ ।
पर्वत ज्वेलर्सको मुख्य प्रयोजन रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै एभरेष्टले जित निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको साइग्लोबलले ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोडेको थियो । जसका लागि मोहम्मद हुसेनले २०, गुवान खानले ७ रन बनाए पनि अन्य व्याटर टिक्न सकेनन । साइग्लोबललाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा ६० रनको लक्ष्य पाएको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पार गर्दै जित निकाल्यो । जसका लागि  चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए भने अतिरिक्तबाट मात्रै ३७ रन जोड्यो । बलिङमा साइग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

जिल्ला भरि छरिएर रहेका विद्यालयमा क्रिकेट खेललाई विस्तार गरि क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाका संस्थागत र निजी १३ विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष हरि बहादुर थापाले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, उपबिजेता टिमले नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने  खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन ।

मंसिर २४ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले खेल क्षेत्रको विकासमा नगरपालिकाले सधैं हातेमालो गर्ने जनाए । उनले खेलले राष्ट्रलाई चिनाउने जनाउँदै क्रिकेटलाई प्राथकिता दिएर नगरपालिका अघि बढ्ने बताए । उनले अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ०३ बजे