Logo

समाचार

धनगढीमा ट्याक्टरको ठक्करबाट विद्यार्थी गम्भीर घाइते, चालक फरार



धनगढी । धनगढीमा स्कुल जाँदै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी छन् ।

आइतबार बिहान घरबाट स्कुल जाने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा १३ वर्षीया छात्रा सुस्मिता साउद गम्भीर घाइते भएकी हुन् । उनी धनगढी–३ स्थित जनता आधारभूत मावि कक्षा ६ मा अध्ययनरत छिन् ।

स्थानीयका अनुसार छात्रालाई ठक्कर दिएर ट्याक्टर मोहना नदीतर्फ भागेको थियो । ट्याक्टर तीब्र गतिमा भाग्दा नम्बर पहिचान गर्न नसकिएको प्रत्यक्षदर्शीको भनाइ छ । ट्याक्टरको ठक्करबाट गम्भीर भाइते भएकी छात्रा साउदको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘प्रत्यक्षदर्शीले प्रष्ट रुपमा कुन कम्पनीको ट्याक्टर हो भन्नेर ठम्म्याउन नसक्दा खोजतलासमा समस्या भएको हो,’ प्रवक्ता जोशीले भने, ‘सवै तिर प्रहरी परिचालन गरी ट्याक्टरको खोजी जारी छ ।’

यसअघि गत बिहीबार धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १६ वर्षीया चेतना साउदको सडक निर्माणमा प्रयोग गरिएको ग्रेडरमुनि च्याप्पिएर मृत्यु भएको थियो । उनको मृत्युपछि भएको आन्दालनका कारण दुई दिनसम्म धनगढी बजार क्षेत्र तनावग्रस्त बनेको थियो । सो घटना सेलाउन नपाउँदै फेरि स्कुल जान लागेकी बालिकालाई ठक्कर दिएर ट्याक्टरसहित चालक फरार भएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ०३ बजे