Logo

समाचार

जनता भगवान हुन् : कुन्ती पोख्रेल



काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई सशक्त बनाउँदै अगाडि बढाइरहेकी छिन् । उनले चुनाव प्रचारप्रसारका क्रममा आफ्ना कार्ययोजना र जनताका समस्या बुझ्ने कुरालाई पनि सँगसँगै प्रस्तुत गरेकी छिन् । त्यसममा उनले पुराना राजनीतिक दलप्रति जनताको ठूलो वितृष्णा भएको र उनीहरुले उम्मेदवार खडा गर्दा पनि पुरानैलाई महत्व दिएका असन्तुष्टि बढेको बताउँदै ती असन्तुष्ट भोटर आफ्नो पक्षमा उभिएको बताएकी छिन् । उनी भन्छिन्, ‘अहिलेसम्म यो क्षेत्रबाट यतिधेरै नेताहरुले चुनाव जिते, प्रधानमन्त्रीदेखि विभिन्न लाभका पदमा पगे तर आफूलाई भोट दिने जनताका समस्या के छन् भनेर एक पटक सोध्न/हेर्न आएनन् । त्यसो हुनुमा धेरैजसो खाली बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारहरु भए । उनीहरु यो क्षेत्रको समस्या समाधानभन्दा पनि समास्या ब्यूँत्याउनतिर मात्रै लागे ।’ ‘यहाँ जति पनि नेताहरु उम्मेदवार बनेर आए उनीहरुले खाली भौतिक विकासका कुरा मात्रै उठाए तर सांस्कृतिक र पुरातात्विक विषयमा कसैले ध्यान नदिएको भन्दै त्यसको लागि आफूलाई मत दिइ विजयी गराउन आग्रह गरिन् ।

यस क्षेत्रमा अहिलेसम्म निकम्मा नेतृत्व भएकाले सार्वजनिक जग्गा र पुरातात्विका वस्तुहरुको व्यापक रुपमा अतिक्रमण भएकाले त्यसको रक्षाका लागि आफूले जिन्तुपर्ने जिकिर गरिन् । हिन्दू धर्म, संस्कार, संस्कृतिमा दिनप्रतिदिन प्रहार भइरहेको भन्दै त्यसको रक्षाका निम्ति आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेकी छिन् । त्यसैगरी सार्वजनिक अतिक्रमण भएका कारण अहिले खुल्ला ठाउँहरु छैनन् । मठमन्दिरका छेउछाउतिर अहिलेकति खाली ठाउँ देख्यो कि कुनै न कुनै नाममा बनाइहाल्ने प्रवृत्तिले हाम्रा भावी पुस्ताको लागि खाली ठाउँ नै नरहने भन्दै त्यसको रक्षा र प्रवद्र्धनका लागि आफूले पहल गर्ने बताइन् । उनी भन्छिन्, ‘यसरी सार्वजनिक जग्गा अतिक्रमण हुँदा खाली ठाउँ मासिँदै गएर स्वच्छ हावा, सुद्ध खानेपानी अभावले वातावरण असन्तुलित हुने औल्याइन् ।

उनी थप्छिन्, ‘यस क्षेत्रमा जहिले पनि एउटै पार्टीका, एउटै व्यक्तिहरुले चुनाव जित्ने । उनीहरुले बारम्बार यहाँका जनतालाई झुक्याइरहने । यसपटक काठमाडौं २ का जनताले परिवर्तन ल्याउँछन् । म यहाँका मतदातालाई ‘हाम्रो होइन, राम्रो’ हेर्नुहोस् भन्न चाहन्छु ।’ यसअघि तपाईंहरुले धेरै पटक हाम्रालाई हेर्नुभयो, आफ्नो पार्टीलाई हेर्नुभयो । तर, यसपटक पनि हाम्रो पार्टीको हाम्रो मान्छे भनेर झुक्किनुभयो भने अरु पाँच वर्ष फेरि पछुताउनुपर्ने हुन्छ’, पोख्रेलले बताइन् । तपाईंले चाहीं चुनाव जित्ने आधार के भन्दा उनी भन्छिन्, ‘काठमाडौं २ नागरिकहरुले मलाई खोजी–खोजी आएका छन् । त्यसकारण आधारमा म यसपटक चुनाव जित्दै छु ।’ ‘जनता भगवान हुन्, उम्मेदवार भक्तजन हुन् ।’ उनीहरुले जस्तो फल दिन्छन् स्वीकार्नुपर्छ । ‘जनताले परिवर्तनको खोजी गरेका छन् । काठमाडौं २ मा परिवर्तनको दीयो बाल्न राप्रपाले मलाई पठाएको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई ‘हलो’ चिन्हमा भोट हाली मलाई जिताउनुहोस्,’ पोख्रेलले आग्रह गरिन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : २९ बजे