Logo

समाचार

गाउँपालिकालाई जोड्ने मोटरेबल पुलको निर्माणको काम सम्पन्न



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकालाई जोड्ने माडीचौर खोला मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालयको आयोजना र सडक पूर्वाधार विकास कार्यालय रोल्पाको समन्वय तथा परिवर्तन गाउँपालिकाको पहलमा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको हो ।

मोटरेबल पुल लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयको करिब ६ करोड बढीको लगानीमा सम्पन्न भएको जनाइएको छ । पुल समयमै निर्माण भएपछी पालिकामा आउने ठूला गाडीहरुलाई सहजता हुने र मालवाहक ठूला गाडीहरु पनि आवतजावतमा सजिलो हुने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले बताए ।

परिवर्तन गाउँपालिकाको केन्द्रलाई जोड्ने गरी निर्माण भएको सडक र पुल भएको बताउदै, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले लुम्बिनी प्रदेश सरकारको साझेदारी र परिवर्तन गाउँपालिकाको पहलमा आफूहरूको प्रयासबाट निर्माणको काम सफलता पूर्वक सम्पन्न भएको बताए । ‘पुल बनिसके पछी मुख्य गरि तल बाट गाउँपालिकामा हाम्रो सेवा लिन आउने पहिलेको राङ्सी गाविस अहिलेको २ नम्बर वडा, पहिलेको इरिबाङ गाविस अहिलेको ६ नम्बर वडा, पहिलेको इरिबाङ गाविस अहिलेको ३ नम्बर वडा र पहिलेको पाछाबाङ गाविस अहिलेको ४ नम्बर वडाका नागरिकलाई गाउँपालिकामा सेवाग्राहीको हिसाबले सजिलो हुने भएको छ ।’ उनले भने । बुढाले पछाडी दीर्घकालीनको हिसाबले २ नम्बर वडा राङ्सी हुँदैन, भाबाङ, जङ्कोट, माडिचौर र लिबाङ सम्मको मोटर बाटोमा जोड्ने सकियो भने यो पुलको महत्त्व बढ्ने समेत बताए ।

‘लगभग पुलको काम चाहिँ गत आर्थिक बर्षमै सम्पन्न हुने जस्तो देखिन्थ्यो, अलिअलि काम मात्र बाँकी थियो तर सडकको हिसाबले जोड्न सकिरहेका थिएनौं र यहाँका उपभोक्ता समिति र जग्गा धनीसँग कुरा मिलिरहेको थिएन’ बुढाले भने ‘अहिले छलफल र समझदारी गरेर बाटो खुलाउने काम भएको छ । अब छिट्टै गराबल गर्ने र गराबल भइसक्यो भने अर्को आर्थिक बर्ष बाट पिचको काम समेत अगाडि बढाउछौं ।’

परिवर्तन गाउँपालिकालाई जोड्ने माडीखोला मोटरेबल पुलको लम्बाई ३५ मिटर रहेको छ भने पुलको चौडाई ८.४ मिटर रहेको छ। निर्माण ठेक्काको जिम्मा एसियाटिक राज जे.भि.माडी गाउँपालिका ३ तालाबाङका राजवीर घर्ती मगरले लिएका थिए । निर्माण ठेक्काको सम्झौता २०७८ बैशाख ०६ गते भएको थियो भने निर्माण ठेक्काको काम सम्पन्न हुने २०७९ कार्त्तिक ०६ गते सम्म रहेको छ ।

सम्झौता र सम्पन्नको मिति हेर्दा तोकिएको समय भन्दा अगाडि नै मोटरेबल पुन निर्माण भएकोमा परिवर्तन गाउँपालिकाले निर्माण समितिलाई धन्यवाद दिएको छ। पुलको ग्याबिनको काम, मेसिनरी वाल, फलामे डण्डीको काम र आर.सी.सी काम सबै सम्पन्न भएको बताइएको छ । अब निर्माण भएको पुलको उद्घाटन हुन मात्र बाँकी रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : १० बजे