Logo

Breaking News 1

राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने, झापामा एमाले र राप्रपाबीच यसरी मिल्यो कुरा


२१ आश्विन २०७९, शुक्रबार  

943
Shares

 

काठमाडौं । नेकपा एमालेले झापाका पाँचवटै संघीय र प्रदेश सांसदका उम्मेदवारको टुंगो लगाएको छ।
राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश छाडेर एमालेले चार संघीय र आठ प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले जानकारी दिए। झापामा पाँच संघीय र १० वटा प्रदेश निर्वाचन क्षेत्र छन्।

झापा क्षेत्र नम्बर ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन्।

क्षेत्र नम्बर १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ। उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाइने एमाले स्रोतले बताएको छ।

क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन्।

क्षेत्र नम्बर ३ भने एमालेले राप्रपालाई छाडेको छ। उक्त क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने छन्।

त्यस्तै क्षेत्र नम्बर ४ मा लालप्रसाद (एलपी)सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन्।

प्रदेशसभातर्फ क्षेत्र १ को ‘ख’ राप्रपाले पाएको छ। त्यस क्षेत्रमा सविना बजगाईं वा कल्याण खड्कामध्ये एक जना उम्मेदवार बन्नेछन्।

क्षेत्र १ को ‘क’ मा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।

क्षेत्र २ को ‘क’ बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार बन्ने भएका छन्।

निर्वाचन क्षेत्र ३ ‘ख’ मा एमाले केन्द्रीय सदस्य हरि राजवंशी र ‘क’ मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेदवार हुनेछन्। क्षेत्र ४ ‘क’ बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ‘ख’ बाट राप्रपाले खुश्बु ओलीलाई उम्मेदवार बनाउने छ।

निर्वाचन क्षेत्र ५ को ‘क’ बाट पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ‘ख’ बाट पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बन्ने निश्चित भएको प्रदेश कमिटी सदस्य खनालले बताए।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : ५४ बजे