Logo

Breaking News 1

बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ : नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै पार्टी तथा समाज रूपान्तरणको अभियान अघि बढाउनुपर्ने बताएका छन् ।

प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रममा बोल्दै महरले वैचारिक बहसलाई प्राज्ञिक क्षेत्रका विज्ञ तथा अग्रजहरूले नेतृत्व गर्नुपर्ने धारणा राखे ।

उनले ‘स्कुल अफ डेमोक्रेसी’ जस्ता अभियानले मात्रै पार्टी र समाज रूपान्तरण सम्भव नहुने भन्दै वैचारिक बहसलाई व्यापक बनाउनुपर्ने बताए । 

उनले भने, ‘स्कुल अफ डेमोक्रेसीको यो अभियानले मात्रै पार्टी र समाज रूपान्तरण सम्भव नहोला । तर, यो वैचारिक बहसको नेतृत्व प्राज्ञिक क्षेत्रका विद्वान् तथा आदरणीय अग्रजहरूले सम्हाल्नुभयो भने उहाँहरूको निर्देशन र विज्ञतालाई बोकेर हामी जनतामाझ जान सक्छौँ । त्यसबाट मात्रै २१औँ शताब्दीको नेपाललाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने नेपालका रूपमा अघि बढाउन सकिन्छ ।’

प्राज्ञिक क्षेत्रका विज्ञहरूको मार्गदर्शन र विशेषज्ञतालाई साथ लिएर जनतामाझ पुग्न सके मात्रै नेपाललाई २१औँ शताब्दीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने मुलुकका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

महरले बदलिँदो समाज र विश्व परिवेशअनुसार राजनीतिक दलहरूले पनि आफ्ना सोच र व्यवहार परिवर्तन गर्नुपर्ने बताए । नयाँ पुस्ताको सोच, आवश्यकता र जीवनशैली विगतको पुस्ताभन्दा फरक भइसकेकाले त्यसअनुसार राजनीतिक दृष्टिकोणसमेत विकसित गर्नुपर्ने उनले उल्लेख गरे ।

नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको उल्लेख गर्दै महरले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गरे । 

उनले भने, ‘फेरिएको नेपाल र फेरिएको विश्वप्रति हाम्रो धारणा पनि त्यहीअनुसार विकसित गर्नुपर्छ । हिजो हाम्रा बाले हामीलाई जसरी व्यवहार गर्नुभयो, आज हाम्रा छोराछोरी र नातिनातिनालाई त्यसरी चलाउन सक्ने अवस्था छैन । त्यसैले नयाँ पुस्ताको सोच, आवश्यकता र बदलिँदो परिस्थितिअनुसार हाम्रो राजनीतिक दृष्टिकोण पनि परिवर्तन गर्नुपर्छ । अहिले सरकारप्रति जनतामा पनि असन्तुष्टि देखिएको छ, समाजका विभिन्न वर्ग सरकारका कामप्रति प्रश्न उठाइरहेका छन् ।’

‘सरकारको कामप्रति समाजका विभिन्न वर्गमा असन्तुष्टि देखिएको’ भन्दै उनले त्यस्ता असन्तुष्ट आवाजलाई एकीकृत गरेर अघि बढ्न सके प्रदीप गिरीको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको यात्रालाई सार्थक बनाउन सकिने बताए ।

महरले प्रदीप गिरीको विचार र योगदानलाई स्मरण गर्दै उनको आदर्शलाई व्यवहारमा उतार्न सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ५ : २० बजे