Logo

मौसम

पूर्वमा मौसम सुधार हुुँदै, पश्चिममा भारी वर्षा


२१ आश्विन २०७९, शुक्रबार  

368
Shares

 

अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भागमा डुबान हुन थालेपछि सुरक्षित स्थानमा जाँदै स्थानीय बासिन्दा।  वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भागमा डुबान हुन थालेपछि सुरक्षित स्थानमा जाँदै स्थानीय बासिन्दा।

मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ। पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ।

मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ। लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ। शनिबार दिउँसोबाट बिस्तारै सुधार हुँदै जानेछ। पश्चिममा भने भारी वर्षा भइरहेको छ, उनले भने, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम बिस्तारै खुल्दै जान्छ।

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार भारी वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : ५० बजे