Logo

खेलकुद

फ्रान्स स्तब्ध, क्रोयसिया फाइनल चरणमा



काठमाडौं । डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा फ्रान्सलाई २–० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ ।

पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २–० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो ।

तर, लिग ए ग्रुप १ को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध ३–१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो ।

क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो ।

डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५० बजे