Logo

धर्म / संस्कृति

लमजुङका युवा लाखे नाच ब्युँताउन जुटे



लमजुङ । नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ ।

मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन् । विगतमा लमजुङमा गाउँ र टोल बजारमा लाखे नाच्ने चलन थियो । लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो । बीचका केही वर्ष कोरोना लगायतका विविध कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन ।

स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि १ भन्नेमा चिन्तित थिए । तर, यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन् ।

लाखे नाच संरक्षणका लागि नेवार समुदायका साथै अन्य समुदायका नयाँ पुस्तालाई पनि आवश्यक ज्ञान, सिप सिकाइनुका साथै विभिन्न पर्व, अवसरमा लमजुङ, तनहुँ, गोरखा र कास्की लगायतका जिल्लाका नागरिकलाई समेत समेटी लाखे नाच प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको नेवा खल सुन्दरबजार नगरपालिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

लाखे नाचको आफ्नै धार्मिक एवम् सांस्कृतिक महत्त्व छ । तिथिअनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भई तीज पञ्चमीमा अन्त्य गरिने र यस अवधिमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको बेसीसहर नगरपालिका–११ चितीका अमृतकुमार श्रेष्ठले बताए ।

यसवर्ष पनि ती पर्वको अवसरमा लमजुङमा लाखे नाच देखाइएको थियो । लाखे नाच्ने, लाखे नाचका लागि ढलकी, झ्याली बजाउने, र्‍यालीमा सहभागी हुनेमा युवापुस्ताको बाक्लै उपस्थिति देखिन्थ्यो ।

पछिल्लो समय लाखे नाच लगायतका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरूको पनि साथसहयोग मिलेको छ । लमजुङे युवाहरू मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका र यसले संस्कृति संरक्षणमा थप जोड पुगेको लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारका युवा सरोजकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ४३ बजे