Logo

विशेष

परिवर्तन गाउँपालिका भित्रका शहिदहरुको स्मृतिमा शहिद स्मारक निर्माण हुने



रोल्पा । वि.सं.२०५२ साल फागुन १ देखि सुरु भएको १० बर्षे जनयुद्ध वि.सं.२०६२/०६३ सालसम्म जारी रहेको थियो । महान जनयुद्धमा राज्य पक्ष र बिर्दोही पक्षबाट मानवीय तथा भौतिक क्षति ब्यहोर्नु परेको थियो ।रोल्पाको सन्दर्भमा राज्य पक्षबाट ७ सय ६२ जनाको मृत्यु भएको र बिर्दोही पक्षबाट १ सय ६५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै दोहोरो भिडन्तमा मृत्यु हुने ८ जना र कुनै पनि पक्ष नखुलेको ११ जना गरि जम्मा मृत्यु हुने संख्या ९ सय ४६ जना रहेको शान्ति सेना रोल्पाको अभिलेखमा रहेको छ । बेपत्ता राज्यबाट २७ जना र बिर्दोही पक्षबाट ६ जना गरी जिल्लामा बेपत्ता हुनेको जम्मा संख्या ३३ जना रहेको अभिलेखमा उल्लेख रहेको छ ।

शहिदहरुको बलिदानलाई स्मरण तथा सम्मान गर्दै रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका राज्य पक्ष र बिर्दोही पक्षका शहिदहरुको स्मृतिमा शहिद स्मारक निर्माण गर्ने परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश भएअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि परिवर्तन गाउँपालिका भित्रका महान शहिदहरुले दिएको बलिदानीलाई स्मरण तथा सम्मान गर्दै परिवर्तन गाउँपालिका ५ राङकोट पालिकाको खेलकुद मैदान धामाचौरमा सम्पूर्ण शहिदहरुको स्मृतिमा शहिद स्मारक निर्माण गर्नको लागि रु.५० लाख बजेटको व्यवस्था गरेको छ ।

परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढा मगरको भनाई अनुसार गाउँपालिका भित्रका देश परिवर्तनको लागि जनयुद्ध, जनआन्दोलनमा उच्च शाहदत प्राप्त गर्ने शहिदहरुको सम्झनामा धामाचौर खेलकुद मैदानमा उनीहरूको रगतको शालिक निर्माण गर्ने नीति कार्यक्रम बनेको छ । साथै निर्माणको कार्य यसैवर्ष देखि सुरु हुने समेत बुढा मगरले जानकारी दिए । प्रवक्ता बुढा मगरले भने ‘परिवर्तनका लागि दुनियाँ बदल्नको लागि जनयुद्ध र जनआन्दोलनमा जति शहिद हुनुभयो उहाँहरुको शालिक बनाउन लागेका छौं ।’

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरका अनुसार शहिद स्मारक निर्माण एउटा पक्षको मात्र नभई दुबै पक्षको निर्माण हुने छ । राज्य र बिर्दोही दुबै पक्षबाट मृत्यु भएका हरुको शालिक निर्माण गरिने अध्यक्ष बुढाले बताए। ‘दुबै पक्षबाट मारिनु भएका वा मर्नु भएका उहाँहरुलाई सम्बोधन हुने गरि स्मारिका बनाउन खोजीएको हो ।’ अध्यक्ष बुढाले भने, ‘दुबै पक्षले देश परिवर्तन र रुपान्तरणका लागि जनयुद्ध, जनआन्दोलन गरेको गरेका थिए ।’

मृत्यु भएका शहिदहरुको योगदान र बलिदान महत्त्वपूर्ण रहेकोले उनीहरुको स्मरण तथा सम्मान गर्नको लागि नीति तथा कार्यक्रम बनाएको बुढाले बताए । यसै वर्ष परिवर्तन गाउँपालिकाको खेलकुद मैदान धामाचौरमा स्मारक निर्माणको कामले गति लिनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ५९ बजे