Logo

खेलकुद

ए डिभिजन लिगका लागि बोलाइएको बैठक दोस्रोपटक स्थगित



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको ए डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो । तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत गराएको हो ।

एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक स्थगित भएको बताए । ‘आजलाई तय बैठक स्थगित भएको छ,’ राईले भने । राईले आफू अस्वस्थ भएका कारण बैठक स्थगित भएको जनाएका छन् ।

यसअघि एन्फाले गत शुक्रबारलाई बैठक बोलाएको थियो । तर, सो बैठकसमेत स्थगित भएको थियो । ‘लगातार दुई पटक बैठक बोलाउनु भयो । तर, दुबै स्थगित भएका छन् ।

कार्यसमितिको झैँ लिगको समेत दुई पटक स्थगित भइसकेको छ । के गरेका हुन् थाहा छैन ,’ सहिद स्मारक लिग क्लबका एक प्रतिनिधि भन्छन् ।

पंकजविक्रम नेम्बाङ ६ असारमा एन्फाको अध्यक्षमा निर्वाचित भएयता एन्फाको वैधानिक बैठक बस्न सकेको छैन । यसअघि दुई पटक कार्यसमिति बैठक बोलाए पनि बस्न सकेन । २ साउनमा बोलाइएको पहिलो बैकठ स्थगित गरिएको थियो ।

साउन ४ मा बसेको दोस्रो बैठक समेत एजेन्डामा प्रवेश नगरी स्थगित भयो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  २ : २१ बजे