Logo

खेलकुद

स्कटल्यान्डसँग लज्जास्पद हार



काठमाडौं । खराव ब्याटिङले निरन्तरता पाउँदा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले लजास्पद हार बेहोरेको छ ।

टिटउड क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्यान्डले नेपाललाई आठ विकेटले पराजित गरेको हो । हारसँगै नेपालको स्कटल्यान्ड भ्रमण टुगिंएको छ ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २८ रनको योगफल तयार गरेको थियो ।

एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १९ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो ।

स्कटल्यान्डको जितमा ओपनर क्यालम म्याकलियोडले सर्वाधिक ६४ रन बनाए । उनले २८ बलमा १० चौका र तीन छक्का प्रहार गरे ।

यसबाहेक, किल कोएट्जर ४४ र क्रिस्टोफर म्याकव्रिडले १० रन बनाए । कप्तान रिची बेरिङ्टन ४ रनमा अविजित रहे ।

म्याकलियोड र कोएट्जरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई सहज जिततर्फ उन्मुख गराएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले र सोमपाल कामीले एक–एक विकेट लिए ।

यसअघि नेपालको ब्याटिङमा ओपनर आसिफ शेखले सर्वाधिक ४० रन बनाएका थिए । यस्तै, कप्तान सन्दीप लामिछानले २२ रन बनाउनुबाहेक नेपालको कुनै पनि ब्याटरको इनिङ सम्झनलायक रहेन ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल तीन रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका देव खनाल १० रनमा पभेलियन फर्किए ।

यस्तै, चौथो नम्बरका रोहित पौडेल पनि १० रनमा आउट हुँदा पाँचौ नम्बरका दीपेन्द्रसिंह ऐरीले पनि टिमको खातामा सात रनमात्र थप्न सके ।

यसबाहेक, विनोद भण्डारीले १३ रन जोड्दा करण केसी सात रनमा आउट भएका थिए । आरिफ शेख डक भएका थिए ।

सोमपाल कामी सात रनमा आउट हुँदा डेब्युट्यान्ट किशोर महतो सुन्य रनमा अविजित रहेका थिए ।

नेपाललाई सस्तैमा समेट्न स्कटल्याडका हम्जा ताहिरले चार विकेट लिए । यस्तै मार्क वाटले तीन विकेट र गाभिन मेनले दुई विकेट लिँदा क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए ।

लिग २ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाली टिमले चार खेलमध्ये तीन खेलमा हार बेहोर्दा एक खेलमा जित निकाल्यो ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा स्टकल्यान्डलाई पाँच विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुन नामिबियासँग ६३ रनले पराजित भएको थियो ।

लिग तालिकाको १९ खेलमा १७ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ४७ बजे