Logo

Breaking News 1

सडकभरि मकै पोलेर समृद्धि कुन देशमा आयो बुद्धिजीवी ज्यू ?



सडकलाई व्यवस्थित गर्नु रोजगार खोस्नु होइन । सडकलाई सफा गर्नु फोहोर गर्नेहरुको अधिकार हनन् होइन । सडक चौडा बनाउनु जनतालाई थिचोमिचो गर्नु होइन ।

तर, यहाँ त, सडक सफा गर्यो भने फोहोर गर्नेहरुको अधिकार हनन् हुन्छ । सडकमा धुँवा उडाएर आगो बाल्दै मकै पोल्नेहरुलाई निषेध गर्दा रोजगार खोसिएको हुन्छ । सडकलाई शान्त र सभ्य बनाउँदा असभ्यहरुका लागि टाउको दुखाई बन्दै आएको छ । यो जस्तो बिडम्वना के हुन सक्छ मान्यवर ?

यदि मकै पोलेर जीवनस्तर उठ्थ्यो भने आज संसारभरका सडकमा मानिसहरु मकै पोलिरहेका हुन्थे ।

सन २०११ को कुरा हो । फ्रान्सको पेरिसमा केहि अप्रावासी अफ्रिकनले सडकमा व्यापार गर्न बसे । पुलिसले आएर सबैलाई धपायो । ती अफ्रिकनहरुलाई त्यहाँ व्यापार गर्न प्रतिबन्ध लगाइयो । उनिहरु सबैले कानुनी रुपमा तोकिएको स्थानमा व्यापार गर्न थाले । एक बर्षपछि प्रहरीले मन्त्रालयलाई बुझाएको रेकर्ड अनुसार उनिहरुको आम्दानीमा चौगुना बढोत्तरी आयो ।

एउटा प्रणाली र नियममा रहेर व्यापार व्यबसाय गर्दा नोक्सान होइन, चौपट फाइदा हुन्छ भन्ने हामीले पनि सिक्न जरुरी छ । बरु यस मामिलामा काठमाडौं महानगरले निश्चित स्थान तोक्न ढिलाई गर्न हुँदैन । मुआब्जा तिरेर भएपनि नीजि जमिन खरिद गरेर महानगर भित्र, अस्थायी बजार क्षेत्र, पाकिङ क्षेत्र, बालबाटिका, पार्क आदि निर्माण गर्नुपर्छ ।

महानगरले मकै पोल्ने व्यवसायीलाई धपाएकोमा केहिले बिरोध गरेका छन् । यो विरोध गर्नुपुर्व केहि कुरा बुझ्न जरुरी छ । कोटेश्वरमा एक महिलाले मकै पोलेर गुजारा चलाएको १४ बर्ष भएछ । उनको घर रामेछाप हो । उनि गाउँ छोडेर बजार आउनुको एउटै कारण रहेछ,‘उनका ठुलोबुवा, छरछिमेक बजार आएर रमझम गरेको देखेर ।’ जब उनले कुराकानीको शिलशिलामा भनिन्,‘गाउँमा त धेरै जमिन छ हाम्रो, २२ रोपनी होला, तर सबै बजार आएर कमाएका छन् भने हामी पनि किन आउने भनेर साना नानीहरु बोकेर यहाँ आएकी हुँ ।’

यी जस्तै हरेक मकै पोल्ने व्यक्तिहरुको गाउँमा घर छ, जमिन छ । त्यो घर खाली छ, जमिन बाँझै छ । तर, यहाँ हरिविजोग देखाएर सडकमा मकै पोल्नुको अर्थ के हो ? यो राज्यले अनुशन्धान गरेर उचित व्यवस्थापनको जरुरी छ । गाउँगाउँमा सारा जमिन खाली हुँदै जानु, बाँझै पढ्नु ! यता भने धुलो धुँवा खाएर, बालबच्चालाई कुपोषणको शिकार बनाएर बजारमा कोचिएर बस्नु । यो कस्तो जीवनयापन हो ? यो बिषयमा महानगरले केन्द्रीय सरकारसंग समन्वय गरेर नागरिकलाई रोजगार, व्यवसायका अवसर प्रदान गर्न तुरुन्त पहल गर्नुपर्छ । याद रहोस, मकै पोल्नेहरुको पनि यहाँ बाच्ने अधिकार छ । तर, सडकमा मकै पोलेर न उनिहरुको पकेट भरिन्छ, न देशमा समृद्धि आउँछ । न संसारमा कुनै देशमा आएको छ । यो बुझ्न जरुरी छ ।

अहिले संसारका अतिकम विकसित मुलुकले पनि राजधानीको सडक व्यवस्थित बनाएका छन् । नेपाल मात्रै त्यस्तो मुलुक हो, जहाँ फोहोर सडकमा खाना पकाइन्छ, मकै पोलिन्छ र फोहोरकै चटनीमा मिसाएर कपाकप खाइन्छ । यति असभ्य मुलुक सायद नेपाल बिश्वमा पहिलो होला ! बंगलादेश र भारतका केहि शहरलाई एकछिन छोडौं ।

बिश्वमा तुलनात्मक रुपमा नेपालको सामाजिक सभ्यता निकै कमजोर छ । यसको उदाहरण भनेको सडकमा मकै पोल्न पाउनुपर्छ भन्ने माग हो । यदि मानौं, सडकको लहरै बसेर सबैले मकै पोलिदिने हो भने यो महानगरमा बस्न लायक होला ! यसरी जथाभावी अनुमति दिने हो भने आज केहि सयले मकै पोलेका छन्, भोली केहि हजार आउनेछन्, पर्सी लाख पुग्नेछन् । अनि के हालत होला यो सडकको !

यसै त हाम्रा सडकका पेटी साँगुरा छन् । पार्किङस्थल छैन । जताततै भीडभाड मात्र छ । अनि यहि भीडमा मकै पोलेर प्रदुषण फैलाउँदा कसलाई राम्रो होला र ! के स्वंय मकै पोल्ने पनि स्वस्थ हुनेछन् ! पक्कै हुने छैनन् । गाउँमा भएका खेतबारी छोडेर आएका तमाम सडकमा व्यापार गर्नेहरुलाई गाउँमै फर्काउने बातावरण मिलाउनुपर्छ । कृषि, साना उद्योग आदिमा अनुदान, सहुलीयत ऋण दिएर यस्ता व्यवसायलाई दिर्घकालीन आम्दानीको सृजना गर्नपर्छ ।

महानगरको यो कामले अहिले रुपमा हेर्दा मकै पोल्नेहरुका लागि पीडा होला । तर, सारमा यस्ले दीर्घकालीन आम्दानीमा लाग्ने बाटो पनि पक्कै खोल्नेछ । बरु तमाम मकै पोल्ने र सडकमा अन्य व्यापार गर्नेहरुले सरकारसंग स्थायी आम्दानी हुने व्यवसायीका लागि माग उठाउनुपर्छ । यसका लागि महानगरले पुरापुर सहयोग गर्नुपर्छ । आफ्नो जमिन र घर हुनेहरु गाउँमै फर्केर व्यवसायीक कृषिमा लाग्नुपर्छ । सरकारसंग अनुदान लिएर व्यवसायीक कृषि र उत्पादनमा लाग्नु स्थायी आम्दानी हुनु हो । मकै पोलेर अल्पकालीन थोरै पैसा हात पारेर कसैको पनि जीवनस्तर उठ्दैन ।

यदि मकै पोलेर जीवनस्तर उठ्थ्यो भने आज संसारभरका सडकमा मानिसहरु मकै पोलिरहेका हुन्थे । त्यसैले, महानगरको कामलाई सबैले प्रोत्साहन गरेर शहरका सडकलाई सुन्दर बनाउन सबैले प्रेरणा दिनैपर्छ । सबैले सहयोग गर्नैपर्छ । साथै मकै पोल्ने र अन्य साना व्यवसायीका लागि निश्चित स्थान तोक्न महानगरले अब ढिलाई गर्न हुँदैन ।

सडकको सहजता र सुन्दरता मकै उत्पादन गर्नेदेखि पोल्नेहरु सबैका लागि हो । देशको समग्र सुधारमा ध्यान दिन सकियो भने सबै नागरिकको समृद्धि आउने हो भन्ने हामीले भुल्न हुँदैन ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : ४३ बजे