Logo

समाचार

हरिविजोग अवस्थामा सूर्यविनायक नगरपालिका



काठमाडौं । सूर्यविनायक नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्षहरु र सदस्यहरुमा पुरानै दलहरुले जित्दै आएका छन् । खासगरि, नेपाली कांग्रेस र एमालेको बाहुल्य रहेको यो नगरपालिका उपत्यका भित्रको सबैभन्दा खराब पालिका हो ।

खासगरि, यो नगरपालिकाको बाल्कोट क्षेत्र सबैभन्दा हरिविजोग बनेको छ । यहि क्षेत्रमा एमाले अध्यक्ष केपी ओलीदेखि पुर्व अर्थसचिव रामेश्वर खनालसम्मका व्यक्ति बस्छन् । तर, यहाँको बातावरण यति खराब छ कि बालकोट सडक वा बस्तीमा जो कोहि एक मिनेट मात्र उभियो भने ध्वनी प्रदुषण र फोहोरले उ टाढा भाग्न बाध्य हुनेछ ।

रामेश्वर खनालको घर अगाडि वर्कशपले २४ घण्टा कर्कस आवाजले दिक्दार बनाउँछ । यो रोडमा गुड्ने साना ट्रकले माटो पोख्दै हिंड्दा घाम लागेपछि उड्ने धुलोले सबैलाई सास्ती बनाएको छ । यो पालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरु कानमा तेल हालेर बसेका छन् ।

त्यति ठुलो काठमाडौं महानगरले त नयाँ नयाँ कामको शुरुवात गरेको छ । तर, सूर्यविनायक नगरपालिकाले ध्वनी प्रदुषण रहित बनाउन समेत कुनै पहल गर्न सकेको छैन ।

यो नगरपालिकाको बालकोट क्षेत्रको अबस्था कस्तो छ त ?

१, यस नगरपालिकाका मेयरदेखि यहाँका वडा अध्यक्षहरुले कुनै गतिलो काम गर्न सकेनन् । उहि नागरिकताको सिफारिस गर्ने र बैठक बस्ने बाहेक कुनै उपलब्धी देखिंदैन । यो भनेको ‘बिरालो बाँधेर गरिएको श्राद्ध’ मात्र हो ।

२, बाल्कोट क्षेत्र सबैभन्दा खराब क्षेत्र बन्दै गएको छ । खासगरि, बाल्कोट हाइटको बृहस्पतीमार्गमा कंक्रिट, बालुवा राख्ने, ओसारपसार गर्ने कामले रातभरि कोलाहल भएर सुत्ने अबस्था छैन । बाल्कोटको नेपाल रेडक्रस सोसाइटी कार्यालयदेखि करिब ५० मिटर पुर्वतर्फ टोलकोबीचमा बिहानै ५ बजेदेखि व्याडमिण्टन खेलेर पुरै बातावरण ध्वनि प्रदुशण बनेको छ । व्याडमिण्टन खेल्न अलिपर बस्ती नभएको स्थान वा कुनै खेलमैदानमा हुनुपर्छ । तर, यहाँ बिहानैदेखि चर्को आवाजमा घरघरहरु नजिकै व्याडमिण्टन खेलेर सुतिरहेका मानिसहरुले निकै सास्ती महसुस गरेका छन् ।

३, बाल्कोट क्षेत्रका बस्तीकै बीचबीचमा वर्कशप, ग्रिल उद्योगहरु अचाक्ली छन् । यसले यहाँको बातावरण पुरै खराब बनाएको छ । बिद्यार्थीले पढ्न सकेका छैनन् । यस्ता उद्योगहरुलाई निश्चित स्थान तोकेर मात्र संचालन अनुमति दिनुपर्छ । अलिकति विकसित मुलुकको अनुसरण गर्न यो सूर्यविनायक नगरपालिकाले किन सक्दैन ? नियम र प्रणाली बसाउने हो, कुनै बजेट चाहिंदैन । मात्र इच्छाशक्ति हुनुपर्छ ।

४, बाल्कोट क्षेत्र सडकभरि बेबारिसे कुकुर भएको भण्डार हो । यहाँ कुकुरको आवाजले रातभरि सुस्त सक्ने अबस्था छैन । यो नियन्त्रणमा नगरपालिकाले किन ध्यान दिंदैन ?

५, काठमाडौं महानगरले धेरै सुधारका कामहरु शुरु गरेको छ । के सूर्यविनायक नगरपालिकाले त्यो भन्दा अझ अघि बढेर यस्ता सुधारका काम गर्न सक्दैन ? एउटा उदाहरणीय काम सूर्यविनायकले गर्यो भने त्यो सबै पालिकाले सिक्न सक्छन् नि ।
कि सधैं उहि नागरिकता बाँड्न सही धस्काउने र बैठकमा उँघ्ने मात्र काम हो ? यस्ता केहि बिषय छन्, जस्को सुधारले नगरक्षेत्रमा धेरै बदलाव आउनेछ । ट्राफिक प्रहरीसंग समन्वय गरेर हर्न निषेध नगरपालिका बनाउन पहिलो शुरुवात गरे हुन्न ?

यो नगरपालिकामा समाजसेवीहरु पनि यस्तै फोहोर, ध्वनी प्रदुषण र असभ्य तरिकाले बस्न र बाँच्न सिकेका छन् । अहिलेसम्म यो नगर क्षेत्रका विकृत पक्षमा यहाँका समाजसेवी र अभियन्ताले कुनै पहल गरेका छैनन् । स्थानीय जनप्रतिनिधि त औपचारिक काम बाहेक अन्य समय पुरै खेर फालेर बिताउँछन् ।

विना लगानी, विना बजेट सुधार गर्न सकिने र व्यबस्थान भए मात्र गर्न सकिने काम गर्न यहाँका जनप्रतिनिधि अटेर गरिरहेका छन् । अबको चुनावमा अन्यत्र जस्तै यहाँ पनि स्वतन्त्र उम्मेदवारले नै चुनाव जित्नुको विकल्प छैन ।

नोट : यो समाचार नभई आम जनचासो र समस्या हो । बालकोट क्षेत्रको व्यापक सुधार नभएसम्म हामी अपडेट गरिरहन्छौं । धन्यबाद ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ११ : ५४ बजे