Logo

समाचार

विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण



झापा । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् ।

गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए ।

संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गरे ।

सहारा नेपालका लेखा अधिकृत राजु गिरीले परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको जानकारी दिए । एउटा घर निर्माणमा एक लाख ८५ हजार लाग्ने उनले बताए ।

सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४३ बजे