Logo

Breaking News 1

केपी ओलीले भनेको असार १७, त्याे दिन के होला ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव (बैशाख ३०) हुनु केहि दिनअघि भनेका थिए, ‘असार १७ पर्खनुहोस ।’ ओलीले बैशाख २४ र २५ गते सार्वजनिक कार्यक्रममा व्यक्त भाषणका मुख्य अंश हुन् यी ।

बैशाख २४ गते, स्थान मोरङ ।
आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुनेः ओली ।
गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुहोस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नुहोस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

बैशाख २५ गते, स्थान काठमाडौं ।
असार १७ गते पर्खनुस, अरु अहिले केहि भन्दिनः ओली
ओलीले चुनावी सभाहरुमा असार १७ गतेको हल्ला यसरी फैलाइदिएकि, सायद त्यो दिन अब के हुन्छ ? हुन त पक्कै केहि त हुन्छ , तर के हुन्छ ? धेरैलाई यो बारेमा खुल्दुली बनाएको छ । ओलीले असार १७ गतेको दिन तोकेर केहि बिषय आँफैले उजागर पनि गरेका छन् । त्यो हो, सत्ता गठबन्धन भत्किने । प्रतिनिधिसभा चुनावसम्म हालको सत्ता गठबन्धन भत्किएर एमालेलाई चुनाव जित्न सहज हुने आसयका धारणा ओलीले सार्बजनिक गरिसकेका छन् । अर्को कुरा, के सत्ता समिकरण बदलिन्छ त ? वा ओलीले भने झैं गठबन्धन भत्किएर एमालेसंगको गठबन्धन बन्ने होला त ? यो पनि कतिपयलाई आशंका जन्मिएको छ ।

यदि प्रचण्ड र माधब नेपालमा राजनीति स्खलन भयो भने ओली आफ्नो लक्ष्यमा सफल हुनेछन् । ओलीको असार १७ गतेको नियतमा कस्तो आकार दिने भन्ने सम्पुर्ण शक्ति प्रचण्ड र माधब नेपालकै मात्र हातमा रहेको छ । असार १७ गतेको अम्पायर केपी ओली भएपनि ‘मैदानमा रहेको कोर्टको बल’ भने प्रचण्ड र माधब नेपाल तर्फको घेरा भित्र नै छ ।

‘राजनीतिमा कोहि स्थायी शत्रु र मित्रु हुँदैन’ भन्ने नेपालकै दलहरुले प्रमाणित गरिसकेका छन् । विगतलाई हेर्दा ओलीले भने झैं गठबन्धनको नयाँ स्वरुप तयार नहोला भन्न पनि सकिंदैन । तर, ओली यतिमा मात्र रोकिने छैनन् । किनकी उनका गतिविधीले यो कुरा प्रष्ट पारिसकेको छ । अहिले ओलीले पाँचवटा विकल्प सहितको असार १७ गतेको तयारीमा दौडिएको बुझ्न सकिन्छ ।

१, पहिलो हो, सत्ता गठबन्धन भत्काउने र सबै दल स्वतन्त्र रुपमा चुनाव लड्ने ।

ओलीको पहिलो प्रयास यो हुनेछ । सबै दल आआफ्ना ढंगले स्वतन्त्र रुपमा चुनावमा जाँदा पहिलो एमाले नै हुने ओलीको जिकिर छ । गठबन्धन नभएको भए हालै सम्पन्न स्थानीय चुनावमा पनि एमाले सिट संख्याकै आधारमा पनि पहिलो हुने थियो भन्ने एमालेले समीक्षा गरिसकेको छ । त्यसैले, अबको संघीय र प्रदेश चुनावमा एक्लाएक्लै चुनावमा जाँदा एमाले सबैभन्दा ठुलो दल भएर बहुमत ल्याउने भएकोले सत्ता गठबन्धन अनिवार्य भत्किनुपर्ने एमालेको गृहकार्य छ । यो काम असार १७ अगावै हुनुपर्ने र सोहि दिन कुनै परिणाम देखिनुपर्ने ओलीको चाहना छ ।

२, दोस्रो हो, सत्ता गठबन्धन भत्काएर माओवादी केन्द्रसंग गठबन्धन गर्ने ।

ओलीले पहिलो विकल्प कथंकदाचित फेल खाएमा माओवादी केन्द्रसंग सहकार्य गर्ने रणनीति अख्तियार गरेका छन् । पछिल्ला दिनहरुमा माओवादी केन्द्रका नेताहरु ओलीसंगको भेटमा पनि यी खालका संकेतहरु बाहिर आएका छन् । ओलीले पहिलो विकल्प सफल नभएमा यो विकल्पमा जानुपर्ने भएकोले माओवादी नेताहरुलाई सहज रुपमा भेट दिएका छन् । यो तर्फ पनि एमालेले ठुलो गृहकार्य गरिरहेको छ ।

३, तेस्रो हो, प्रधानमन्त्री नै परिवर्तन गर्ने ।

अहिले पनि एमाले संसदमा सबैभन्दा ठुलो दल छ । चुनावको मिति घोषणा नहुँदासम्म प्रधानमन्त्री, मन्त्रीहरु हेरफेर गर्न पाइने संविधानमा व्यबस्था छ । अहिलेसम्म निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको मिति तोकेको छैन । त्यसैले, सत्ता गठबन्धन भित्रकै दलहरुलाई प्रधानमन्त्रीको अफर गरेर गठबन्धन टुटाइदिने एमालेले काम शुरु गरिसकेको छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल समक्ष यो संकेत पनि पुगिसकेको छ । एमाले भित्र भरसक माधब नेपाललाई प्रधानमन्त्री बनाउन नहुने बरु प्रचण्डलाई नै अघि सार्नुपर्ने बलियो मत छ । यो गृहकार्यलाई अघि बढाउने र सत्ता गठबन्धन भत्काउने यो बलियो सुत्र भएको ओलीको बुझाई छ ।

४, चौथो हो, बामगठबन्धनको हल्ला चलाएर कांग्रेसलाई गलाउने ।

पछिल्ला दिनहरुमा अर्को एउटा बिषयले पनि निकै चर्चा पाएको छ । त्यो हो, बामएकता । एमालेकै घनश्याम भुसालदेखि अन्यले पनि यो कुरा उठाइरहेका छन् । भलै भुसाललाई एमालेले कारवाही गर्दैछ । तर, एमालेले बामएकता गर्ने कुरा उठाएर कांग्रेसलाई गलाउने र कांग्रेसकै अग्रसरतामा माओवादी र एकीकृत समाजवादीसंगको सहकार्य तोड्न लगाउने । यो विकल्पमा गइयो भने कांग्रेस गल्नेछ र एमालेसंगको तालमेलमा हात बढाउनेछ भन्ने ओलीको बुझाई छ । यो गृहकार्यमा पनि एमाले अघि बढेको छ ।

५, पाँचौं हो, नेकपा एकीकृत समाजवादीलाई फुटाइदिने ।

एमालेले माधब नेपालको एकीकृत समाजवादीलाई फुटाएर त्यो पार्टीका केहि सांसद समाहीत गर्न सकियो भने संसदमा झन बलियो हुने र सरकार परिवर्तनमा जान सकिने बुझेको छ । त्यसका लागि, माधब नेपाल बाहेकका सांसदहरुलाई पोलिटव्यूरो, केन्द्रीय सदस्य लगायतको जिम्मेवार दिने एक खालको खेल एमालेले खेल्ने तयारी गरेको छ । चुनावको मिति घोषणा अगावै यो गर्न सकियो भने संसदमा बलियो दल भएको नाताले प्रधानमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेर सरकार परिवर्तन गर्ने र आफ्नै नेतृत्वमा चुनाव गर्ने एमालेले विकल्पमा राखेको छ । भलै यो विकल्पलाई ओलीले त्यति महत्वको रुपमा लिएका छैनन् ।
यसरी, एमाले अध्यक्ष ओलीले पाँचवटा विकल्पका साथ असार १७ गतेको गृहकार्य गरिरहेका छन् । यी गृहकार्यको परिणाम असार १७ गते नै पारेर घोषणा गर्ने तयारीमा एमाले पुगेको छ । कुन विकल्पमा एमाले सफल हुन्छ, अहिले स्वंय एमालेले पनि भन्न सक्दैन ।

यदि प्रचण्ड र माधब नेपालमा राजनीति स्खलन भयो भने ओली आफ्नो लक्ष्यमा सफल हुनेछन् । ओलीको असार १७ गतेको नियतमा कस्तो आकार दिने भन्ने सम्पुर्ण शक्ति प्रचण्ड र माधब नेपालकै मात्र हातमा रहेको छ । असार १७ गतेको अम्पायर केपी ओली भएपनि ‘मैदानमा रहेको कोर्टको बल’ भने प्रचण्ड र माधब नेपाल तर्फको घेरा भित्र नै छ ।

तर, पनि समग्रमा एमालेको मुख्य उद्देस्य सत्ता गठबन्धन भत्काउने र आसन्न चुनावमा एमालेलाई सहजता प्रदान गर्ने ओलीको दाउ हुनेछ । यसमा ओली कति सफल हुनेछन्, कुन विकल्प सफल हुनेछ र कस्तो परिणाम आउनेछ , त्यसका लागि भने असार १७ सम्म नै कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : १८ बजे