Logo

खेलकुद

गुजरातलाई डेब्यु वर्षमै उपाधि



काठमाडौं । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो ।

राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए ।

यसबाहेक, राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाएका थिए ।

राजस्थानसामू कसिलो बलिङ गरेको गुजरातका कप्तान हार्दिक पन्ड्याले तीन विकेट लिए । आइपिएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका पन्ड्याले चार ओभरमा १७ रन खर्चिएका थिए ।

यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए ।

प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’ पाए । यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’ पाए । उनले १७ इनिङमा २७ विकेट लिए ।

आइपीएलको १५औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् ।

यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ६ : ५३ बजे