दमौली । तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् ।
नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएकी थिइन् ।
पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन् । काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।
घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन् ।
यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन् ।
दुई महिला वडाध्यक्षमा निर्वाचित
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न पालिकाका उम्मेदवारी दिएका छ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरेका हुन् । चार जना भने पराजित भएका छन् ।
भानु –१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी छन् । उनले ६७२ मत प्राप्त गरी विजयी भएकी हुन् । आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएकी छन् ।
बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर –५ मा रीता तिवारी कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि विजयी हुन सकिनन् । म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि उनी पराजित भइन् । शुक्लागण्डकी–८ को वडाध्यक्षमा कांग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि उनी पनि पराजित भइन् ।
प्रतिक्रिया