Logo

मुख्य समाचार

ट्राफिक व्यवस्थापन झन कमजोर, चौपट बढ्यो ध्वनी प्रदुशण



काठमाडौं । बिहीवार न्युप्लाजा, चारखाल, नक्साल भगवती हुँदै बालुवारसम्म एउटा सार्बजनिक बसले लगातार हर्न बजाउँदै कुद्यो । अन्य सवारी चालक अचम्मित बने । त्यो हर्नको आवाजले सडकमा आतंक फैलाइरहेको थियो । तर, कुनै ट्राफिक प्रहरीले पछ्याएर कारवाही गर्ने प्रयास गरेनन् ।

आजकल उपत्यकामा यस्ता घटना दिनहुँ देखिन्छन् । हर्नको आवाजले संघीय राजधानी अहिले चौपट कोलाहलमय बनेको छ । ‘हर्न निषेध कार्यक्रम’ लागु गर्न नसक्दा उपत्यकालाई भारतको सिमवर्ती क्षेत्रका बजार तथा भारत र बंगलादेशका भद्रगोल शहरसंग तुलना गर्न थालिएको छ । उपत्यका ट्राफिक नेतृत्वले हर्न निषेध कार्यक्रम कार्यान्वयन नगर्दा बातावरणमा ठुलो असर परिरहेको छ । अर्कोतर्फ करोडौं राजस्व गुमिरहेको छ ।

हर्नको कोलाहल बढेपछि यहाँका बासिन्दा निकै दिक्क बनेका छन् । उनिहरुलाई हालको उपत्यका ट्राफिक नेतृत्वको असफलताको कारण मान्छन् । नयाँ बानेश्वर चोकमा पसलमा गर्ने हिरालाल महर्जन अहिले हर्नको आवाजले दिक्क छन् । हर्नको आवाजले उनलाई अवाक्क बनाएको गुनासो गर्छन् । ‘३० बर्ष भन्दा बढी पसल गरें, तर अहिलेको जस्तो हर्नको कोलाहल कहिल्यै व्यहोरिन, उनले दुखेसो पोखे,‘चार महिनादेखि हर्नको आवाज निकै बढ्यो ।’ पहिले त हर्न बजाउनेलाई कारवाही गरेको सुनेको थिएँ, अहिले त जथाभावी हर्न बजाएको बजायै छन्, उनले भने ।

महर्जन जस्तै, उपत्यकाका लाखौं नागरिकलाई अहिले हर्नको आवाजले हैरान बनाएको छ । सरकारले २०७४ साल बैशाख १ गतेदेखि ‘नो हर्न’ कार्यक्रम लागु गरेको थियो । तर, पछिल्लो सात महिनादेखि यो नियम उल्लंघन गर्ने क्रम निकै बढेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयको नेतृत्व र जिम्मेवारीमा भएको हेरफेरसंगै ट्राफिक नियम कार्यान्वयन कमजोर हुँदै गएको सर्वसाधारण अनुभव गरेका छन् । हर्न निषेध कार्यक्रम कार्यान्वयन नहुँदा उपत्यकाको वातावरण पुरै बिग्रेको छ । पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकहरु हर्नको आवाजले बस्न नसकिएको व्यबसायीहरुसंग गुनासो गर्दै आएका छन् । हर्नको आवाजले वातावरण मात्र बिग्रेको छैन, नेपालको छवि बिदेशमा समेत धमिलिएको व्यवसायीले बताएका छन् । अर्को तर्फ ‘हर्न निषेध’ नियम उल्लंधन गर्नेबाट उठती हुने करोडौंको राजस्व उठ्न सकेको छैन ।

हर्न ज्यादा बजाउनेमा सार्बजनिक बस, माइक्रो, ट्याक्सी ज्यादा छन् । ट्राफिक प्रहरीले कानुन उल्लंघन गर्नेलाई कारवाही गर्न सकेको छैन ।
उपत्यकामा ‘हर्न निषेध’ कार्यक्रम मात्र होइन, सडक लेन मिच्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, ओभर टेक गरेर सडकमा आतंक फैलाउने लगायतका ट्राफिक उल्लंघनका काम ह्वात्तै बढेको छ । यस तर्फ महानगरीय प्रहरीको जिम्मेवार तह मुकदर्शक जस्तै छ ।

किन ट्राफिक नेतृत्वले काम गर्न नसकेको त ? यो बिषयमा भुतपुर्व एक ट्राफिक प्रहरी अधिकृत भन्छन्,‘उपत्यकामा आवस्यक अनुसारको ट्राफिक जनशक्ति छैन, भएका जनशक्ति पनि नेताहरुको घर, कार्यालय, मन्त्रालयहरुमै सिमित छन् ।’ उपत्यकाको ट्राफिक अबस्था राम्रो बनाउने हो भने हालको ट्राफिक संख्या दोब्बर बनाउनुपर्ने उनको धारणा छ । ‘दरबन्दी नै निकै कम छ, उनले भने,‘आधुनिक ट्राफिक प्रणाली शुरु नभएकोले सडकमा जवान नै खट्नुपर्ने अबस्था छ ।’ यसतर्फ हालसम्मको कुनै सरकारले ध्यान दिन नसकेको उनको भनाई छ ।

सरकारले दिनरात सडकमा खट्ने ट्राफिक प्रहरीलाई दिने सेवा सुबिधानमा कुनै ध्यान दिएको छैन । सडकमा खट्ने ट्राफिक प्रहरीलाई निकै हैरानी छ । धुलो र धुँवाबाट उनिहरुको स्वास्थ्यमा हुने असर पारे सरकारले गंभिरता देखाउन नसकेको एक पुर्व ट्राफिक जवानले बताए । ‘अन्य प्रहरीको तुलनामा सडकमा खट्ने प्रहरीलाई भत्ता पाँच गुना ज्यादा दिएर प्रोत्साहन गर्न सक्न पर्दथ्यो,’ तर त्यो अहिलेसम्म गरिएन, उनले भने ।

कुनै सवारीले नियम उल्लंघन गरेर भाग्यो भने ट्राफिक प्रहरीलाई पछ्याउने एक/एक सवारी साधन दिएको छैन । ‘हर्न बजाउने वित्तिकै, लेन मिच्ने बित्तिकै उसलाई पछ्याएर समात्न हामीसंग कुनै सवारी साधन छैन, ड्युटीमा रहेका एक ट्राफिक प्रहरीले भने,‘हर्नको आवाजले हामीलाई पनि दिक्क बनाएको छ नि, तर के गर्ने बजाएर भागिहाल्छन् ।’ खोइ, हाम्रा हाकिम साबहरुले यस्तो कुरामा वास्तै गर्दैनन्, उनले भने । उनले भने जस्तै ट्राफिक प्रहरीलाई अत्याबस्यक साधन स्रोत उपलब्धन नहुँदा प्रभावकारी काम हुन सकेको छैन । जस्ले गर्दा सडकमा ट्राफिक प्रहरीले नियम अटेर गर्नेलाई कारवाही गर्न सकेका छैनन् । सरकारले ‘हर्न निषेध’ कार्यक्रम लागु गर्दा पहिलो पटक हर्न बजाएमा ५ सय, दोस्रो पटक एक हजार, तेस्रो पटक १५ सय र चौथो पटकदेखि बजाएको पाइएमा लाइसेन्समा प्वाल पार्नेदेखि खारेजीसम्मको नियम तोकेको थियो । तर, अहिले यो नियम स्वंय ट्राफिक प्रहरीदेखि सवारी चालकले नै बिर्सिएका छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयको चुस्त काम हुन नसकेको बारेमा वातावरणप्रेमीहरुले गृहमन्त्री बालकृष्ण खाँणसंग भेटेर जानकारी दिने तयारी थालेका छन् ।

ध्वनि प्रदूषण भन्नाले ध्वनिमा भएको दूषितपना वा ध्वनिका कारण स्वास्थ्यमा हानिनोक्सानी हुने कुरालाई बुझाउँछ । आवाज सुन्नका लागि मानवशरीरमा भएको कानको क्षमताभन्दा बढी ध्वनि कानभित्र प्रवेश गरेको अवस्थालाई ध्वनि प्रदूषण भन्न सकिन्छ । हाम्रो कानले सामान्यतया ८५ डेसिवलभन्दा बढी डेसिवलको आवाजलाई सहजै सहन गर्न सक्दैन । त्यसभन्दामाथि जति जति डेसिवल बढ्दै जान्छ उत्ति नै प्रदूषणको मात्रा बढ्छ । यसको गंभिर प्रकृतिका रोगहरु लाग्छ । बिभिन्न अध्ययन अनुसार, उपत्यकाका बिभिन्न चोकहरुमा २ सय भन्दा बढी डेसिवलको ध्वनी प्रदुषण फैलिरहेको छ ।

हालै अवकास भएका एक ट्राफिक अधिकृत भन्छन्,‘नेतृत्वले इच्छाशक्ति देखायो भने उपत्यकाको हर्न आवाज नियन्त्रण हुन्छ । दुई/चार जनालाई कारवाही गर्ने र व्यापक प्रचार प्रसार गर्ने वित्तिकै ‘हर्न निषेध’ कार्यक्रम कार्यान्वयन हुने उनको भनाई छ ।

यो बिषयमा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी उमेश जोशी गैरजिम्मेवार जवाफ दिंदै तर्कन्छन् । भन्छन्,‘प्रवक्तासंग सोध्नुहोला ।’ यसअघिका प्रमुख नागरिकसंग सबैसंग सहज पहुँच राख्ने । जोशी आउनु अघिका ट्राफिक प्रमुख आंफै फिल्डमा खटिएर हर्न निषेध कार्यक्रम कार्यान्वयनमा जुट्थे । तर, हाल कार्यरत जोशी भने काम गर्न असफल भएका छन् । उनि प्रमुखमा नियुक्ति भएपछि उपत्यकाको ट्राफिक व्यबस्थापन पुरै भद्रगोल बनेको छ । उनि यो बिषयमा कुनै जवाफ दिन चाहँदैनन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : २३ बजे