Logo

Breaking News 1

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान प्रारम्भ, जजिरा एयरवेजबाट शुरुवात



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार भैरहवास्थित २५६६औं बुद्धजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरेका हुन् ।

विमानस्थलबाट सोमबारदेखि अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक हवाई उडान सुरुवात गरिएको छ । सोमबार जजिरा एयरबेजले पहिलो अन्तर्राष्ट्रिय उडान गरेर सुरुवात गरेको हो । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्ने बताएका छन् ।
‘आजको दिन नेपालको पर्यटन तथा नागरिक उड्ययनको क्षेत्रको विकासको लागि ऐतिहासिक महत्व राख्ने दिन हो । काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्नेमा कुनै दुई मत छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘यस विमानस्थलको सञ्चालनबाट शान्तिका अग्रदुत गौतमबुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचित गराउन र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले आन्तरिक तथा अन्तराष्ट्रिय सम्पर्क विस्तार गर्दै मुलुकलाई उन्नति र प्रगतिको पथमा अघि बढाउन, पर्यटन क्षेत्रको विकास गर्न तथा आय रोजगारीका अवसर सिर्जना गरी दिगो आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न नियमित र भरपर्दाे हवाई सेवाको विकास गर्नु आवश्यक भइसकेको बताए। प्रधानमन्त्री देउवाले आजदेखिसञ्चालनमा आएको अन्तराष्ट्रिय विमानस्थलको सफलताले नेपालको उड्डयन क्षेत्रको साथै समग्र अर्थतन्त्रको विस्तारमा समेत सकारात्मक योगदान पु¥याउने सुनिश्चित भएको बताए। ‘सरकारको अर्थक प्रयास,मित्रराष्ट्र तथा एडिवी लगायतका दातृ निकायहरुको सहयोगमा सम्पन्न भएको यस विमानस्थलको व्यवसायिक सञ्चालनले भविष्यमा नेपालको समग्र अर्थतन्त्र,यात्रुहरुको आवागमन,व्यापार र पर्यटन विस्तारमा ठूलो टेवा पुग्नेछ’ उनले भने, ‘सबैंको सयुक्त प्रयासको कारणले अहिलेको अवस्थामा विमानस्थल आइपुगेको हो।’

प्रधानमन्त्री देउवाले विमानस्थलको सफल सञ्चालनको लागि नेपाल प्रवेश गर्ने सहज मार्गहरुको विस्तारका लागि नेपाल सरकारको तर्फबाट मित्रराष्ट्रभारतसँग समन्वय र सहकार्य भइरहेको बताए। प्रधानमन्त्री देउवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकीय पूर्वाधार निर्माण, बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार र आय तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने दावी गरे।

एसियाली विकास बैंक (एडिबी) नेपालका कन्ट्री डाइरेक्टर आर्नाे कोश्वाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबनेसँगै दक्षिण एसियामा बुद्धिष्ट सर्किटमार्फत पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने बताए। ‘विमानस्थल सञ्चालनमा आएसँगै बुद्धिष्ट सर्किटमार्फत सोझै गौतमबुद्धको जन्मस्थलमा पर्यटन आउन सक्ने वातावरण बनेको छ,’ उनले भने, ‘यो नेपालको पर्यटन प्रवद्र्धनको लागि कोशेढुंगा सावित बन्नेछ।’ यो परियोजनामा एसियाली विकास बैंक (एडिबी)को १२.७५ मिलियन अमेरिकी डलर अनुदान, एडिबीको ४२.७५ मिलियन अमेरिकी डलर ऋण, ओपेक फण्ड फर इन्टरनेशनलको १५ मिलियन अमेरिकी डलर, नेपाल सरकारको २३.७१ मिलियन अमेरिकी डलर र एसियन क्लिन इनर्जी फण्डको ३ मिलियन गरेर कुल ९७.२१ मिलियन अमेरिकी डलरमा निर्माण गरिएको हो।

‘यो विमानस्थलमार्फत लुम्विनी प्रदेशमा धार्मिक पर्यटनको साथसाथै आर्थिक तथा सामाजिक उत्थानमा समेत मद्दत पु¥याउँदै मुलुककै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिनेछ,’एडिबी नेपालका कन्ट्रि डाइरेक्टर काश्वाले भने, ‘व्यापार व्यवसायलाई समेत अझै टेवा पुर्याउनेछ।’ उनले श्रीलंका, बंगलादेश, म्यानमार, भुटान, कम्बोडिया लगायतका बुद्धिष्ट मुलुकहरुसँग नेपालको हवाई सम्पर्क तथा सञ्जाल विस्तारका लागि यो विमानस्थल लाभदायक हुने बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान कुवेतको जजिरा एयरवेजले गरेको छ। सोमबार विहान सात बजेर आठ मिनेट जाँदा जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। अवतरण गरेको विमानलाई पानीको फोहोरा र गडगडाहट तालीले भव्य स्वागत गरिएको थियो। सोमबार विहान ६ बजेर ५६ मिनेट जाँदा नेपाल वायूसेवा निगमको न्यारोबडी विमानले पनि व्यवसायिक आन्तरिक उडान गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले करिव साढे ७ अर्ब रुपैयाँ खर्चेर विमानस्थल निर्माण गरिएको बताए।

चार वर्ष ढिलो सञ्चालनमा

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले यो विमानस्थल ०७१ माघ १ गते शिलान्यास गरेका थिए। विमानस्थल चिनियाँ कम्पनी चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसनले सन् २०१५ देखि निर्माण सुरु गरेर सन् २०१७ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर,भूकम्प, नाकाबन्दी र कोभिड १९,निर्माण सामग्रीको अभाव लगायतका विविध कारणले यो आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन।

यो आयोजना तोकिएको समयभन्दा झण्डै चार वर्षपछि मात्रै सञ्चालनमा आएको हो। यो आयोजनाको जग्गा र मुआब्जा तथा क्षतिपूर्तिमा करिव ३२ अर्बभन्दा धेरै रकम खर्च भएको छ। सुरुवाती चरणमा ६ अर्ब २२ करोडमा निर्माण गर्ने भनेता पनि अहिले यो आयोजनाको लागत झण्डै आठ अर्ब रुपैयाँ पुगेको छ।

तत्कालिन युवराज विरेन्द्र शाहले भैरहवास्थित गौतमबुद्ध विमानस्थल वि सं २०२३ सालमा उद्घाटन गरेका थिए। उनले उद्घाटन गरेको ५६ वर्षपछि आन्तरिक विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिएको हो। अहिले यो विमानस्थलको धावनमार्ग ३ हजार मिटर रहेको छ। यसअघिको आन्तरिकतर्फको धावनमार्ग १५ सय मिटरको थियो। जसलाई अहिले ट्याक्सी वेको रुपमा परिणत गरिएको छ।

अहिले ४५ मिटर चौडाई भएको दुई वटा धावनमार्ग रहेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताए। ‘त्रिभुवन विमानस्थलमा कुनै प्राविधिक कारणले विमान अवतरण हुन नसकेको अवस्थामा छिमेकीमुलक गएर आकस्मिक विमान अवतरण गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थलको अत्याधिक चापलाई न्यून गर्दै मुलुकमा बढ्दो हवाई सुरक्षा र यातायातलाई सहज पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’ मन्त्री आलेले त्रिभुवन र गौतमबुद्ध विमानस्थल सोमबारदेखि २४औं घण्टा सञ्चालन हुने जानकारी दिए । अब उपत्यका बाहिरका नागरिकलाई विदेश जान काठमाडौं आउन नपर्ने भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : २८ बजे