Logo

खेलकुद

खुमलटार पहिलो पटक ए डिभिजन लिगमा



काठमाडौं । हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा रोकियो ।

लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि पहिलो चरणमा खुमलटारसँग पराजित हुनु रानीपोखरीका लागि ए डिभिजन लिग उक्लिने अवसरको बाधक बन्यो ।

पहिलो चरणमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ३–१ ले पराजित गरेको थियो ।

२०७० सालमा ‘सी’ डिभिजन विजेताको हैसियतमा दोस्रो डिभिजनमा बढुवा भएको खुमलटार लिगको पछिल्लो संस्करणमा पनि दोस्रो भएको थियो । तर, उक्त संस्करणमा एक टोलीमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजन लिगमै बसेको थियो ।

यस्तै, खुमलटारसँग पराजित भएसँगै सामाजिक यूथ क्लब रेलिगेसनमा परेको छ । तालिकाको १३औं स्थानमा रहँदै लिगको अन्त्य गरेको सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो । जुन रेलिगेसन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो ।

तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले यसअघि नै उपाधिसहित ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसक्दा पुछारमा रहेको झम्सिखेल तेस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २१ बजे