Logo

Breaking News 1

‘हस्तक्षेप गर्न सकिएन भने देश श्रीलंका जस्तै हुन्छ’: विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अब पनि हस्तक्षेप गरेर देशको अर्थतन्त्र जोगाउन नसके देशको अवस्था श्रीलंका जस्तै हुने चेतावनी दिएका छन् ।

देशको वर्तमान आर्थिक अवस्थाबारेमा एमालेका तीन अर्थमन्त्रीले आज पत्रकार सम्मलेनमार्फत ब्रिफिङ गरेका हुन् ।

वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको बताउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले अब हस्तक्षेप नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने उनले बताएका हुन् ।

‘सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,’ पौडेलले भने, ‘मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर संकटबाट बाहिर निस्कन सक्दैन ।’

अघिल्लो सरकारले विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५३ बजे