Logo

समाचार

मर्स्याङ्दीका चारसय ४३ जनाले पाए रोजगार



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८÷७९ को साउदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सूचिकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३ जना र महिला ९ सय ३७ जना छन् । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेको बताइएको छ । १३ वटा योजना सम्पन्न भएका छन । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने र नाली निर्माणको काम गरेका छन् । केहीले सय दिन काम गरिसकेका छन् । केहीले काम गर्नेक्रममा छन् । एक जनाले दैनिक ५ सय ७७ रुपियाँका दरले पारिश्रमिक पाउँछन् ।

उनहरूले एकमुष्ट ५७ हजार ७०० रुपियाँ पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रुपैयाँ छ । कामदारलाई आवश्यक सुरक्षित सामग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १० : ०५ बजे