Logo

Breaking News 1

अर्थमन्त्रीप्रति ओलीको छुद्र टिप्पणी, ‘अनुहार भरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो’



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई कारबाही गरेको बताए ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, निलम्बन गरेर सरकारले बलियो बोको बनाउने काम आरोप लगाए ।

सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै अध्यक्ष ओलीले आपत्ति पनि जनाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाईलाई राष्ट्रियसभा सदस्य बनाएर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप लगाए । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले एमालेका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले विपक्षसँग परामर्श नगरी आचारसंहिता जारी गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न पार्टी प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ५७ बजे