Logo

खेलकुद

बी डिभिजन लिगः अन्तिम खेलमा बाँसबारीले झम्सिखेललाई हरायो



काठमाडौं । झम्सिखेल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे । खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट सान्त्वना गोल गरे ।

जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेको छ । यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ । झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ । १८ फागुनदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ ।

दुई खेलअघि नै चर्च ब्वाईज क्लब शीर्षस्थानमा रहँदै ए डिभिजन लिगमा बढुवा भइसकेका छन् । दोस्रो टोलीको रूपमा खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटी शीर्ष डिभिजन लिगमा बढुवा हुने संघारमा छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : २९ बजे