Logo

विश्व

श्रीलंकामा मन्त्रीहरुको सामूहिक राजीनामा पछी गभर्नरले पनि दिए राजीनामा



काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटरमार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्युसमेत उल्लंघन गर्दै नागरिकहरु प्रदर्शनमा उत्रिएलगत्तै प्रधानमन्त्रीबाहेक सरकारका सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धनलगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : २८ बजे