Logo

Breaking News 1

घोडेजात्रा : एक भव्य पर्व


१८ चैत्र २०७८, शुक्रबार  

0
Shares

काठमाडौं । चतुर्दशीका दिन परम्परादेखि मनाइँदै आइरहेका नेपालका धेरैजसो चाडपर्वहरूमध्ये चैत्रकृष्ण चतुर्दशीका दिन मनाइने पिशाच चतुर्दशी (पाहाँचह्रे) चाड पनि एउटा हो । यो चाडलाई कोहीकोहीले यो चाडको दिन खाइने मुख्यमुख्य वस्तुहरूमध्ये प्रमुख वस्तु लसुन भएकाले त्यसैको नामबाट यस चाडलाई ‘लसुने चाड’ भनी अर्को नामले पनि पुकार्दछन् । अनि यस चाडको भोलिपल्ट गरिने रमिता घोडेजात्रा नामले प्रख्यात छ ।

यो चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दशैँ र तिहारको चाडझैँ नै मनाउने गरिआएका छन् । यस चाडको दिन बालबालिका, युवकयुवती, बूढाबूढी आदि सबैले बिहान सबेरै सूर्योदयभन्दा अघिदेखि नै उठी त्यसैबेलादेखि मध्यान्हकालसम्म ठूलो हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कंकेश्वरी आदि आ–आफ्ना पीठका देवीहरू र भैरव, गणेश आदि देवताहरूको दर्शन, पूजन गर्न जाने गर्दछन् । दिउँसो मध्यान्हकालदेखि बेलुकी सायंकालसम्म आ–आफ्नो घरमा मानिसहरूले आफ्ना परिवारहरूसँग बसी विविध प्रकारका खानेकुराहरू खाई चाड मनाउँदछन् ।

अनि सायंकालदेखि मध्यरातसम्म पनि लोग्ने मानसिहरूमध्ये धेरैजसो घरघरबाट निस्की भद्रकाली, ककेश्वरी, लुमडी, रक्तकाली तथा अन्य देवदेवीहरूको खटयात्राका साथ शहर परिक्रमा गरेर हिँड्दछन् ।

त्यसकारण त्यसैबेलादेखि चैत्र कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशीको दिन भनी उपयुक्त प्रकारले महादेवको पूजा गरी चाड मनाउने गरी आएको हो । यो ‘लुकुमहाद्य’ नामक महादेव खाल्टोमा रहेको र लुं वुं, बहु वु नामक रायो साग र मुलाको सागमा फुल्ने फूल (डुकु) चढाउनु परेको कारण पनि त्यसैकारणले गर्दा हो भनिन्छ ।

कोही व्यक्तिहरू यसै चाडको बखत बजाइने नायखिं नामक बाजा बजाएर ती जात्रा गरिएका देवदेवीहरूका खटयात्राको साथमा र त्यसै पनि डुलेर हिँड्ने गर्दछन् । त्यस्तै प्रकारले कुनै कुनै मानिसहरू आ–आफ्ना साथीभाइहरूसँग भेला भई करुणरसले परिपूर्ण भएको धातु नामक रागका गीत गाएर हिँड्छन् ।

तिनीहरूले उक्त रागमा ‘कहाँ पाऊँ कहाँ बसूँ जाने ठाउँ छैन है दैव यति रमाइलो रस छोडी कहाँ जाऊँ है दैव’ भन्ने भावको गीत गाएर हिँडी यो संसार दुःखको खानी हो, दुःख पाउनलाई मात्र यो संसारमा प्राणीहरूले जन्म लिन आउँदछन् । यो संसारमा चारदिन बाँच्नलाई के कुरा ख्याल राख्ने भन्ने कुरा प्रचार गरेर हिँड्ने निराशावादी दार्शनिकहरूलाई यो संसार सुखले परिपूर्ण भएको स्थान हो, यहाँ अनेक प्रकारका रसरंग गर्न पाइन्छ भनी उत्तर दिँदै हिँडेका हुन् कि भन्ने भान हुन्छ ।

फेरि बालबालिकाहरू, युवकयुवतीहरू र बूढाबूढीहरूले सूर्यास्त भएदेखि मध्यरातसम्मको समयसम्म पनि बसेर लुकुमहाद्य (लुकेको महादेव) नामक महादेवको एक रूपलाई जाँड, रक्सी, लसुन, मासु तथा अन्य विभिन्न प्रकारका तामसी खानेकुरा राखी पूजा गर्दछन् । रायो र मुलाको सागमा फुल्ने लुं बुं, वह वु नामक फूल चढाउँछन् र उक्त महादेव्कहाँ बालिएका बत्तीबाट उत्पन्न भएको ध्वाँसोबाट गाजल बनाई आँखामा लाउँछन् ।

उक्त महादेवकहाँ बालिएका बत्तीको ध्वाँसोबाट बनाइएको गाजल लाउनाले आँखाको रोग निको भई आँखा तेजिला हुन्छन् भन्ने कथन छ । त्यसकारण केटाकेटीहरूले बाघको आँखा कानो, सानो मूसाको आँखा तेजिलो भन्ने नारालाई दोहो¥याई तेहे¥याईकन कराउँदै अनुहारै ख्याकको जस्तो देखिनेगरी गाजल लाएर हिँड्ने गर्दछन् । यो दिन पूजा गरिने उक्त लुकुमहाद्य नामक शिवलिङ्ग खाल्डाहरूमा स्थापना गरी माटोले पुरेर राखेका हुन्छन् र शिवरात्रिको दिन एक दिन र यही पिशाच चतुर्दशी (पाहाँचह्रे) चाडको दिन एकदिन खाल्डाहरूमा रहेको माटो झिकी उक्त लुकुमहाद्यलाई पूजा गरिन्छ ।

त्यसपछि घरघरमा राती आधा रातसम्म आमा र बूढी बज्यैहरूले आफ्ना नातिनातिनाहरूलाई यही चाडसँग सम्बन्धित दन्त्यकथा र पौराणिक कथाहरू सुनाउने गर्दछन् ।

उनीहरूले उक्त लुकुमहाद्य नामक महादेवको एक रूप शिवलिङ्ग खाल्डाहरूमा रहेको र महादेव भए पनि मद्य, मांस, लसुन आदि राखेर लुं बुं, बहु वु चढाई पूजा गर्ने बारेको कुरा यसप्रकार सुनाउँदछन् । धेरै समयअगाडि सत्य युगमा एकपल्ट पार्वती जसले आवश्यक परेको समयमा काली र भगवतीको रूप धारण गरी मद्य, मांस आदि भक्षण गर्ने गर्दथिन् उनले महादेवलाई भनिन्, ’हे महेश, देव देवमा पनि महादेव कहलाउनुभएका तपाईंकी अर्धाङ्गिनी भएर म साह्रै सौभाग्यवती भएकी छु, मलाई यसमा ठूलो हर्ष छ । तर तपाईं र ममा एक कुरामा समान नभएकोले मलाई अति खेद लाग्छ । त्यो समान नभएको कुरा के हो भने मैले बखतबखतमा अनेक रूप धारण गरी मद्य, मांस आदि भक्षण गर्दछु तर तपाईंले उक्त पदार्थहरू भक्षण गर्नुभएको कहिलै पनि देखिनँ । त्यसकारण मलाई केही अप्ठ्यारो जस्तो लागिरहेछ ।’ पार्वतीको यो कुरा सुनी महादेवले भन्नुभयो, ‘गौरी तिमी भ्रममा परेकी रहिछ्यौ । तिमीले मात्रै अनेक रूप धारण गरेर समय समयमा मद्य, मांस भक्षण गरेकी होइनौँ, मैले पनि गरेको छु ।’

महादेवको यस्तो वचन सुनेपछि पार्वतीले आग्रह गरीकन महादेवले मद्य, मांस भक्षण गरेको हेर्ने मनसाय प्रकट गरिन् । उनको इच्छानुसार महादेवले पिशाचरूप धारण गरी रायो र मूलाको साग उम्रिरहेको खेतमा जानु भई कसैले नदेख्ने गरी खाल्डोमा बस्नु भई मद्य, मांस, लसुन खाएर देखाई पार्वतीको चित्त शान्त गरिदिनुभयो ।

त्यसकारण त्यसैबेलादेखि चैत्र कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशीको दिन भनी उपयुक्त प्रकारले महादेवको पूजा गरी चाड मनाउने गरी आएको हो । यो ‘लुकुमहाद्य’ नामक महादेव खाल्टोमा रहेको र लुं वुं, बहु वु नामक रायो साग र मुलाको सागमा फुल्ने फूल (डुकु) चढाउनु परेको कारण पनि त्यसैकारणले गर्दा हो भनिन्छ ।

त्यस तन्त्रमा यो पनि भनिएको छ, ‘घोडा दौडमा छोडिएको घोडा जतिजति चर्को वेगले दौडिन्छ त्यतित्यति छिटो हिसाबले दुःखपीडा दिन आएका शत्रुहरू पछि हटेर भाग्दछन् । शत्रुहरू नाश हुन्छन्, रोगादि दुःख निवारण भएर महासुख लाभ हुन्छ ।

त्यस्तै प्रकारसँग यस चाडको बखत जात्रा गरिने भद्रकाली, कंकेश्वरी देवीहरूका बारे पनि उनीहरूले कथा सुनाउँदै लुत्तिमरु अजिमा (इनद्रायणी) को जात्रा कुन कारणले गर्दा पिशाच चतुर्दशीको दिनमा नभई बालाचतुर्दशीको दिनमा भएको भन्ने बारेमा यसप्रकारका कुरा सुनाउँदछन् । कंकेश्वरी, भद्रकाली, श्वेतकाली, रक्तकाली, इन्द्रायणी, मैतीदेवी, टंकेश्वरी आदि देवीहरूका जम्मा आठजना दिदीबहिनीहरू छन् । जसमध्ये लुत्तिमरु अजिमा (इन्द्रायणी) सबभन्दा गरीब र धेरै छोराछोरीहरूकी आमा थिइन् । त्यसकारण धेरै छोराछोरीको आमाले सुख पाउँदैनन् भन्ने आव्हानअनुसार उक्त लुत्तिमरु देवीले पनि सुख पाएकी थिइनन् ।

एक समय यही पिशाच चतुर्दशीको चाडको दिन कसैले ती देवीहरूका सबै दिदीबहिनीहरूलाई भोजको निम्ता गरेछन् । त्यसबखत ती देवीहरूका दिदीबहिनीहरूमध्ये सबैलाई अनेक सम्मानका साथ स्वागत सत्कार गरियो । तर उक्त इन्द्रायणी (लुत्तिमरु अजिमा) एउटीलाई गरीब भएको हुनाले कसैले पनि सम्मान गर्ने कुरा त के एक लवजसम्म पनि कसैले बोलेन । त्यसबखत उक्त अजिमाका केटाकेटीहरूले ‘भोक लाग्यो, भोक लाग्यो’ भनी कराउँदै हल्ला मच्चाएछन् । उनीहरू कराएको आवाज उनीहरूलाई निम्तो गर्ने घरबेटीलाई सुन्न मन लागेनछ । ऊ रिसले चुरमुरिई टाढाबाट ‘लौ खा’ भन्दै सुकेर ढुङ्गाझैँ साह्रै भइसकेका रोटीहरू हुत्याउन ल्याएछ ।

तिनका एउटा रोटीले इन्द्रायणी देवी (लुत्तिमरु अजिमा) को एक बालकको टाउकोमा चोट परी रगत निस्किएछ । तर रगत जम्मै सुनमा परिणत भएछ । त्यसोभए तापनि आफूलाई अपमान गरेको सहन नसकी अपशोच गर्दै भोजै नखाईकन लगत्तै फर्किछिन् । फेरि त्यही पहिले भोज डाक्ने व्यक्तिले नै पहिलेझैँ सबै उपयुक्त देवीहरूका दिदीबहिनीहरूलाई भोजको निम्तो गरे । त्यसबखत उक्त इन्द्रायणी (लुत्तिमरु अजिमा) आफ्ना छोराछोरी जम्मैलाई गहना र पोशाक लगाउन दिई भोजको निम्तामा गइन् ।

त्यसबेला भोजमा बोलाउने उक्त घरबेटीले उनीहरूलाई खूब सम्मानपूर्वक स्वागत सत्कार गरेर भोज ख्वाउन ल्याएछ । तर इन्द्रायणी र उनका छोराछोरीहरू कसैले पनि भोज नखाई आफूले लाएर आएका गहना फुकालेर खानेकुरामा राखी गहना र पोशाकले भोजमा सम्मान पाउँदोरहेछ, यो भोज हामीलाई ख्वाएको होइन, गहना र पोशाकलाई ख्वाएको हो भन्दै त्यसबेला पनि केही नखाई पहिले लगत्तै घर फर्केर आए ।

त्यसबेलादेखि इन्द्रायणी (लुत्तिमरु अजिमा) को यात्रा पिशाच चतुर्दशीको दिन नभई बालाचतुर्दशीको दिन गर्ने गरेको हो । यसप्रकार आमा तथा बूढी बज्यैहरूले यस चाडसँग सम्बन्धित कुराहरू सुनाउने गर्दछन् ।

त्यसपछि यसै चाडको रातमा टुँडिखेलमा खट जुधाउने भनी बढी उमेरका देवीहरूलाई कम उमेरका देवीहरूले ढोगाउने कार्य गरिन्छ । अनि भोलिपल्ट असनमा पनि त्यस्तै प्रकारले खट जुधाउने भनी टुँडिखेलमा जस्तै बढी उमेरका देवीहरूलाई परिक्रमा गराउने र ढोगाउने कार्य गरिन्छ ।

फेरि टुँडिखेलमा पनि त्यसदिन घोडादौड र सर्कस आदि अनेक रमिता गरी समारोह गरिन्छ । जसमा श्री ५ महाराजाधिराजसमेत सम्मिलित होइबक्सन्छ । देशका विभिन्न भागबाट त्यो रमिता हेर्न मानिसहरू आउँदछन् । यही रमिताको कार्यले आजकल पिशाच चतुर्दशीको चाडलाई नै घोडेयात्राको चाड भन्ने प्रथा चलिसकेको छ । वास्तवमा यो चाडको बखत पाश्चात्य देशको नक्कल गरी घोडा दौड गर्ने र सर्कस आदि रमिता गर्ने प्रथा ऐतिहासिक तथ्यअनुसार नेपालका स्वर्गीय प्रधानमन्त्री जंगबहादुर बेलायत भ्रमण गरी देशमा फिरिसकेपछि त्यसबेलादेखि चलिआएको जस्तो देखिन्छ ।

नत्र त शास्त्रको कुराअनुसार यस चाडको बखत एउटै मात्र घोडा दौडाउने प्रथा थियो । घोडे जात्राको दिन नेपाल उपत्यकाका धेरैजसो टोलहरूका लुकुमहाद्य रहेका ठाउँहरूमा ससाना केटाकेटीहरूलाई पनि पूजा गरी मलःजा ख्वाउने भनी खानेकुरो र भात ख्वाइन्छ ।

यस चाडबारेका अरू विभिन्न प्रकारका कथनहरूको अतिरिक्त शास्त्रोक्त कथनअनुसार महाकालतन्त्रमा शिववचन भनी यस्तो लेखिएको छ, ‘चैत्र कृष्णपक्षको चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । यस दिनको लुकुमहाद्यः स्वरूपको अर्थात् पिशाचरूपी महादेवलाई लसुन, छ्यापी तथा मद्य, मांस राखी पूजा गरेर बत्ती चढाई गाजल बनाई आँखामा लगाई रायोको सागमा फुल्ने फूल तथा मूलाको सागमा फुल्ने फूल चढाई पूजा गर्नाले र पीठ सेवा अर्थात् कंकेश्वरी, भद्रकाली आदि देवीहरूको सेवा गर्नाले सर्वसिद्धि प्राप्त गर्न सकिन्छ ।

फेरि त्यसदिनको भोलिपल्ट अर्थात् चैत्रकृष्ण औंसीको दिन उपयुक्त किसिमले नै पीठ पूजा गरेर घोडेजात्रा गरी रमिता गर्नाले मानिसहरूले भविष्यका कुराहरूको ज्ञान प्राप्त गर्न सक्तछन् ।’ त्यस तन्त्रमा यो पनि भनिएको छ, ‘घोडा दौडमा छोडिएको घोडा जतिजति चर्को वेगले दौडिन्छ त्यतित्यति छिटो हिसाबले दुःखपीडा दिन आएका शत्रुहरू पछि हटेर भाग्दछन् । शत्रुहरू नाश हुन्छन्, रोगादि दुःख निवारण भएर महासुख लाभ हुन्छ ।’ यी कथनहरूमा विचार गर्दा यो चाड मनाउने प्रथा नेपालमा तन्त्रयानको बोलवाला भएपछि मात्र चलेको जस्तो भान पर्दछ ।

तर फेरि माथि बूढी बज्यैहरूले आफ्ना नातिनातिनाहरूलाई यस चाडको राति भन्ने कथा भनी उल्लेख गरिसकिएको महादेवपार्वतीको वार्तासम्बन्धी कुरा विचार गर्दा भने यो चाड सत्ययुगदेखि नै मनाउने गरिआएको हो कि भन्ने लाग्छ । जेहोस्, यसै हो भन्ने निक्र्यौल निकाल्नचाहिँ सजिलो देखिँदैन ।

वास्तवमा यो चाडको बखत पाश्चात्य देशको नक्कल गरी घोडा दौड गर्ने र सर्कस आदि रमिता गर्ने प्रथा ऐतिहासिक तथ्यअनुसार नेपालका स्वर्गीय प्रधानमन्त्री जंगबहादुर बेलायत भ्रमण गरी देशमा फिरिसकेपछि त्यसबेलादेखि चलिआएको जस्तो देखिन्छ ।

धेरै अनुसन्धान, अन्वेषण गर्नु आवश्यक हुन्छ किनभने वंशावलीको कथनअनुसार यो चाडको बखत खटयात्रा गरिने भद्रकाली, कंकेश्वर, इन्द्रायणी (लुत्ती) आदि देवीहरूको स्थापना कलिगत ३८२५ मा राजा गुणकामदेवले यं नाम गरिएको पहिलेको काठमाडौँ शहरको क्षेत्र बढाई कान्तिपुर शहर भनी नामाकरण गरेर देश रक्षार्थ विभिन्न दिशामा स्थापना गरेको प्रमाण आउँछ । फेरि ती देवीहरूको खटयात्रा गर्ने र बाह्र वर्षमा एकपटक ती देवीहरूमध्ये धेरैजसोको नाच नचाउने प्रथा राजा अमर मल्लले नेपाल सम्वत् ५८० मा चलाएका हुन् भन्ने कुराको पनि ज्ञान प्राप्त हुन आउँछ ।


(मंगलादेवी सिंहद्वारा लिखित ‘नेपाली संस्कृतिका छटाहरु’ पुस्तकबाट साभार ।)

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १ : ३२ बजे