Logo

समाचार

कांग्रेसले चुनावी तालमेलको जिम्मा महोत्तरीका पालिकालार्ई नै दियो



काठमाडौं । महोत्तरीका राजनीतिक दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा अझै अन्योलमा छन् ।

गठबन्धन गर्ने वा निर्वाचनमा एक्लै एक्लै जाने भनेर केन्द्रबाट कुनै निर्णय नआउँदा दलका नेताकार्यकर्ताहरूसमेत प्रष्ट रुपमा खुल्न सकेका छैनन् ।

माओवादी केन्द्र र नेकपा समाजवादीले निर्वाचनमा जाँदा गठबन्धन गरेर जानुपर्ने जोड दिएका छन् । तर, कांग्रेसले भने चुनावी गठबन्धनको बिषयमा सम्बन्धित पालिकाहरूले निर्णय गर्नसक्ने अधिकार प्रदान गरिसकेको छ । ‘पार्टीले अधिकार दिए पनि कसरी जाने भन्ने बिषयमा अझै खाका बनाउन सकिएको छैन ।’ जिल्ला सभापति नागेश्वर यादवले भने ।

अघिल्लो निर्वाचनमा महोत्तरीमा मधेशवादी दलहरू बलिया देखिएका थिए । जिल्लाका १५ पालिकामध्ये नौ वटामा मधेशवादी दलहरूले बर्चश्व कायम गरेका थिए ।

तर, पछिल्लो राजनैतिक घटनाक्रमले जिल्लामा बलियो सांगठनिक संरचना रहेका मधेशवादी दलहरू नै छिन्नभिन्न हुनुले पनि कुनै पार्टीलार्ई पनि एक्लै चुनाव लड्न सक्ने अवस्था देखिएको छैन ।

नेकपा समाजवादी र माओवादी केन्द्र चुनावी गठबन्धनमा अडिग रहे पनि नेकपा एमाले, नेपाली कांग्रेस र मधेशवादी दलहरू भने आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

निर्वाचन लक्षित कार्यक्रममा अगाडि बढ्न केन्द्रबाट सबै दलहरूलाई निर्देशन आएको छ तर दलहरू चुनावी गठबन्धनको अन्योलमा नै अल्झिरहनुले भने जसरी चुनावी कार्यक्रम बनाउन नसकिएको जिल्लास्थित नेताहरू बताउँछन् ।

जसपा र लोसपासँगको गठबन्धनको तयारीमा एमाले
नेकपा एमालेले जसपा र लोसपासँग चुनावी गठबन्धन गर्ने संकेत गरेको छ । हरेक ठाउँमा एक्लै लड्न सकिने एमालेले घोषणा गरे पनि एमाले टुक्रिएर बनको नेकपा एसको प्रभावले मधेश प्रदेशमा नेकपा एमाले कमजोर नै छ ।

‘नेकपा एमालेले टिकटको आशा देखाएर जसपा, लोसपाबाट नेता कार्यकर्ता तानिरहेको देखिन्छ । तर, त्यसले राम्रो परिणाम भने दिँदैन ।’ नेकपा एस महोत्तरीका सचिव सोमबहादुर कार्कीले भने ।

यता, माओवादी केन्द्र भने तालमेल गर्नैपर्ने मनस्थितिमा छ । सत्ता गठबन्धनमा समिकरण भएअनुसार नै कांग्रेस, नेकपा एस र माओवादी केन्द्रको चुनावी तालमेल रहने बताउँदै पनि आएको छ ।

‘हामी गठबन्धन नै नभए पनि लड्न त सक्छौँ तर तालमेलबाट अझ फाइदा पुग्ने हँुदा गठबन्धनको आवश्यकता महसुस गरेका छौँ ।’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग चुनावी गठबन्धन गर्न सक्ने संकेत गरेतापनि जिल्ला अध्यक्ष रामबाबु साह भने अश्वीकार गर्छन । जिल्लाभरी नै लोसपाको संगठनिक संरचना बलियो भएको हुँदा गठबन्धन गर्न जरूरत नभएको उनले जिकिर गरे । उनले भने, ‘जिल्लाका केही कमजोर पालिकाहरूमा भने गठबन्धनको अवस्था आए तालमेल गरौला नत्र पर्दैन ।’ उनले भने ।

जसपाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको पनि लोसपा कै अध्यक्ष रामबाबु साहको जस्तो दावी छ । निर्वाचित जनप्रतिनिधि लोसपामा भएतापनि आफूहरूको संगठनिक संरचना बलियो रहेको अध्यक्ष यादवको भनाइ छ ।

गठबन्धनको सम्बन्धमा भने ११ चैतमा जिल्ला कार्यसमितिको बैठक बसेर टुंग्याउने अध्यक्ष यादवले जानकारी दिए । ‘विचार मिल्ने पार्टीसँग आफूहरू चुनावी तालमेल गर्ने अवस्थामा छौँ ।’ अध्यक्ष यादवले भने ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ३९ बजे