झापा- झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेको हो।
जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ बिहानी टोलमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन्। तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन् ।
बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट पौडेलको छातीमा चोट लागेको छ। उहाँलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ।
यसैबीच, मेचीनगर नगरपालिका–७ को सतिघट्टा नाकाआसपासको क्षेत्रबाट जङ्गली हात्ती नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
केही दिनयता बाहुनडाँगी, प्रसाद गौडा, काँकरभिट्टा र सीमावर्ती क्षेत्रमा १२ वटाभन्दा बढीको सङ्ख्यामा हात्ती देखिएको स्थानीयले बताएका छन्। हात्तीको ठूलो समूह बस्ती आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष पहलाद ओलीले बताए ।
हात्तीको समूहले स्थानीय बस्तीमा प्रवेश गरी घरगोठ तथा बालीनालीमा क्षति पु¥याउन सक्ने जोखिम रहेको उहाँको भनाइ छ। हात्तीको आवागमन बढेपछि स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न समेत समस्या भइरहेको छ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले जङ्गली हात्तीलाई भारततर्फ नै फर्काउन भारतीय प्रहरीसमेत परिचालित भएको जानकारी दिए ।नेपाल र भारतका सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय गरेर हात्तीलाई बस्तीमा पस्न नदिन प्रयास भइरहेको उनले बताए ।
डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लामा मानव–हात्ती द्वन्द्वको समस्या लामो समयदेखि रहँदै आएको छ। विसं २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा ७० नेपाली र १० गैरनेपाली नागरिक रहेका छन्।
सोही अवधिमा मानव–हात्ती द्वन्द्वका कारण २८ वटा जङ्गली हात्तीको समेत मृत्यु भएको कार्यालयले बताएको छ। आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा झापाका विभिन्न स्थानीय तहका नागरिक रहेका छन्। मेचीनगर–९ की पेना किसान, दमक–३ का गणेशप्रसाद अधिकारी, मेचीनगर–१३ का खम्बासिंह कार्की, भद्रपुर–९ का रामबहादुर बुर्जा र कनकाईका कृष्णबहादुर भुजेलले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ।
त्यस्तै, पछिल्ला घटनामा मेचीनगर–४ की पद्मा पौडेल र बरहदशी गाउँपालिका–२ की लुजुमा खातुनले समेत जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाए ।
मानवीय क्षतिसँगै हात्तीबाट घरगोठ, पशुधन, भण्डारण गरिएको अन्न र खेतीपातीमा समेत ठूलो क्षति पुग्दै आएको छ। आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीबाट पीडित बनेका नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको डिभिजन वन कार्यालय झापाले बताएको छ । सो अवधिमा १५ वटा पशुधन, १ सय ९१ स्थानमा भण्डारण गरिएको अन्न र २ सय ६८ घरगोठमा क्षति पुगेको थियो।
वन क्षेत्रको अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभाव हुनु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन्।
हात्तीको आवागमन हुने क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका उपभोक्ता र सुरक्षा निकायबीच समन्वय बढाउने तथा जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
वन्यजन्तुको संरक्षणसँगै नागरिकको जीउधनको सुरक्षा गर्नु अहिले जिल्लाका लागि चुनौती बनेको छ। सीमावर्ती क्षेत्रमा हात्तीको ठूलो समूह देखिन थालेपछि स्थानीय प्रशासन, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिएको हो ।








प्रतिक्रिया