न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भोटेकोशी विपद्, पुनर्वास र हरित पुनर्निर्माणबारे छलफल भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि बिहीबार राष्ट्रसंघ मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।
भेटमा गुटेरेसले भोटेकोशी विपद्बाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको र हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न राष्ट्रसंघको समर्थनका विषयमा पनि कुराकानी भएको थियो।








प्रतिक्रिया