काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिन नेपाली जनताले आफ्नो शासन व्यवस्था आफैं निर्धारण गरेको ऐतिहासिक दिन भएको बताइन् ।
उनले संविधानले राज्यशक्तिको मूल स्रोत जनता भएको सिद्धान्त स्थापित गरेको बताउँदै राज्यको शक्ति संविधान र कानूनको सीमाभित्र प्रयोग हुनुपर्ने उल्लेख गरिन् ।
‘संविधानले नागरिकलाई अधिकार दिएको छ, राज्यलाई जिम्मेवारी दिएको छ र शासनलाई एउटा सीमाभित्र बाँधिदिएको छ,’ उनले भनिन् ।
मन्त्री गौतमले समानता, स्वतन्त्रता, न्याय, सम्मान र सहभागिताका अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्न पाउनुपर्ने बताइन् ।
उनका अनुसार संविधान आफैंमा अन्तिम गन्तव्य नभई न्यायपूर्ण, समावेशी र समृद्ध समाज निर्माण गर्ने आधार हो । उनले समयअनुकूल संविधानमा आवश्यक सुधार गर्दै जानुपर्नेमा जोड दिइन् ।








प्रतिक्रिया