Logo

Breaking News 1

देशभर मनसुनी वायुको प्रभाव, एक/दुई स्थानमा भारी वर्षाको सम्भावना



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ । देशभर साधारणतया बादल लागेको तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति देशभर साधारणतया बादल लाग्ने विभागले जनाएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।

मधेश प्रदेश र कोशी प्रदेशको  तराई भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ६ : १४ बजे