काठमाडाैं । सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम बढेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरू बसोबास गर्ने स्थान मात्र नभई उनीहरूको आवतजावत, कामकाज र परिवारको जीविकोपार्जनमा समेत असर गरिरहेको छ ।
कार्यालयका अनुसार पछिल्लो एक सातामा सिरियाका छ वटा प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित १२ वटा घटना भएका छन् । ती घटनामा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये छ जना बालबालिका रहेका छन् । उत्तरी सिरियाको रक्का प्रान्तमा विस्फोटक पदार्थसम्बन्धी सबैभन्दा धेरै घटना भएका छन् । यसले युद्धका क्रममा छाडिएका विस्फोटक अवशेषको जोखिम अझै कायम रहेको देखाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सन् २०२४ डिसेम्बर ८ देखि हालसम्म सिरियाभर विस्फोटक पदार्थसँग सम्बन्धित १ हजार ४ सयभन्दा बढी घटना अभिलेख गरिएको छ । ती घटनामा करिब दुई हजार ५ सय सर्वसाधारण प्रभावित भएका छन् भने ८८० जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया