काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अझै करिब ४ हजार २१६ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणले भदौ १८ गते दिउँसो १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोमा परी मृत्यु भएकामध्ये ९५ जनाको सनाखत भइसकेको जनाएको छ । मृतकको शव रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमबाट फेला परेको हो ।
सम्पर्कविहीन हुनेमा नेपाली तथा विदेशी नागरिकसँगै जलविद्युत् आयोजनामा कार्यरत श्रमिक, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधि र स्थानीय बासिन्दा छन् । विवरणअनुसार विदेशी नागरिक ५८३ जना, विदेशी पर्यटकसँगै गएका नेपाली १६४ जना तथा जलविद्युत् आयोजनाका करिब ९०० जना सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना ९ हजार २८७, नेपाल प्रहरी ७ हजार ९१२ र सशस्त्र प्रहरी बल ४ हजार २०३ जना परिचालन भएका छन् ।
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको छ । उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरले ७१५ पटक उडान भरेका छन् भने काठमाडौंका निजी क्षेत्रका हेलिकप्टरमार्फत १२९ पटक उडान भएको छ ।
बाढीबाट घाइते भएका ५ हजार २३५ जनाको उपचार गरिएको छ । विभिन्न अस्पतालमा ३०१ जना, नेपाली सेनामार्फत ३ हजार २०६ जना र सशस्त्र प्रहरी बलमार्फत १ हजार ६२८ जनाले स्वास्थ्य उपचार पाएका छन् ।
उद्धार गरिएकामध्ये ३ हजार ९४८ जना विभिन्न होल्डिङ सेन्टरमा रहेका छन् । नुवाकोटमा २ हजार ८६१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जनालाई राखिएको छ ।
राहततर्फ काठमाडौं उपत्यकाबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । थप ९ हेलिकप्टर उडानमार्फत राहत सामग्री पुर्याइएको छ । सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरेको जनाएको छ ।
सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । यस्तै, प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ राहत रकम निकासा गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ क्षतिग्रस्त टावरमध्ये ७५ वटा सञ्चालनमा आएका छन् ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दाततर्फ ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन रहेको प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया