Logo

समाचार

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी जम्मा



काठमाडौं । रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँ बराबर हुन्छ।

नेपाली रुपैयाँ र अमेरिकी डलरमा जम्मा भएको रकम जोड्दा कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार केही देश तथा संघसंस्थाले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष र प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग जुटाइरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्न ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ५४ बजे