Logo

Breaking News 1

आज विश्व जल दिवसः पानीका स्रोतको संरक्षण गर्न राष्ट्रपतिको आह्वान



काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो ।

सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो । सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलो पटक विश्व जल दिवस मनाइएको थियो ।

पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।

मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ । जलको अभावमा बाँच्न असम्भव छ । जसकारण जल महत्वपूर्ण छ ।

वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भोग्नु परेको छ । अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्को मारिरहेको छ । जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ ।

विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्, जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ ।

पानीका स्रोतको संरक्षण गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिंदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ ।

नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाउने गरिन्छ ।

‘पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’ राष्ट्रपति भण्डारीबाट आज जारी सन्देशमा भनिएको छ, ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’

‘बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवद्र्धन गर्नुपर्दछ,’ सन्देशमा भनिएको छ ।

उनले शहरी क्षेत्रमा बर्सातको पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने बताएकी छन् । साथै भूमिगत पानी पुनःभरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा रोप्ने कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्दै द्रूत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनःभरण कार्यलाई प्रोत्साहन गर्न राष्ट्रपति भण्डारीले सबैमा आह्वान पनि गरेकी छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिंदै उनले भूमिगत जलस्रोतको संरक्षण र संवर्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गरेका छन् ।

संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उनले बताए ।

प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले मुलुकमा सङ्घीय शासन व्यवस्था लागू भएपश्चात् एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको अवगत गराएका छन् ।

उनले विश्व पानी दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्न अभिप्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३३ बजे